Main News

९ किलो सुनको अनुसन्धानमा आशंका, सरकारी वकिल कार्यालयले भन्यो- महरामाथि छानबिन गर्नू (भिडियो रिपोर्टसहित)

कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिए

हिमालय टिभी
२०८० भदौ ११ गते २१:१६
९ किलो सुनको अनुसन्धानमा आशंका, सरकारी वकिल कार्यालयले भन्यो- महरामाथि छानबिन गर्नू (भिडियो रिपोर्टसहित)

११ भदौ २०८० काठमाडौं । भेपमा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न छुटाएकोमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सीआईबीलाई सम्झाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा महराको चिनियाँ नागरिकसँग पटकपटक सम्पर्क भएको उल्लेख भएपछि सरकारी वकिलको कार्यालयले प्रहरीसँग पुरक प्रतिवेदन मागेको हो ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिकले दुई वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप अर्थात् इलेक्ट्रिक सिगरेट ल्याएका थिए । त्यसमै राखेर सुन ल्याइएको थियो । ती प्याकभित्र सुन रहेको पत्ता लागेपछि भन्सारको गोदाममा रहेका ती भेपबाट सुन झिकेर बिक्री गरिएको थियो । पछि भन्सारका कर्मचारीहरू नै संलग्न रहेको अनुसन्धानका क्रममा पुष्टि भयो ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले करिब दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले असार २८ गते अदालतमा अभियोग–पत्र दायर गर्यो । काठमाडौँ जिल्ला अदालतले साउन २ गते यो मुद्दामा प्रारम्भीक सुनुवाइ गर्दै भन्सारका कर्मचारीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरू वेदप्रकाश अग्रवाल र सोहब राय पाण्डुरङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । यो प्रकरणमा ९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पक्राउ परेका अमृत कार्की धरौटी बुझाएर रिहा भए । दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा अझै फरार छन् ।

कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिए
प्रारम्भीक अनुसन्धानबाट यो प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको पनि संलग्नता रहेको खुलेको थियो । तर उनीहरूमाथि सीआईबीले थप अनुसन्धान गरेन । जबकी सीआईबीकै अनुसन्धान प्रतिवेदनमा बनाइएको लिङ्क चार्टमा महराका बाबुछोराको कनेक्सन देखाइएको थियो । सरकारी वकिलको कार्यालयले अभियोग पत्रमा समेत यसबारे उल्लेख गरेको थियो । तर, उनीहरूलाई प्रतिवादी बनाइएन ।

दबाबपछि फेरि अनुसन्धान गर्न पत्र
साउन ३ मा ६० किलो सुन विमानस्थलबाट बाहिरबाट नियन्त्रणमा लिएपछि महराको कनेक्सनको विषय पनि चुलियो । गुपचुप राखिएको विषयलाई लिएर एमालेले निरन्तर प्रश्न गर्यो । सत्ता गठबन्धनबाटै पनि यसबारेमा प्रश्न उब्जिएपछि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्रीले यसबारेमा छानबिन गर्ने आश्वास दिएका थिए । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा महराले अनुसन्धानका लागि आफु तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

सीआइबीले बयानै नलिनु, अभियोगपत्रमा भने महराका बाबुछोराको नाम लिनुले यसलाई गुपचुप सल्ट्याउन खोजिएको थियो । तर, सार्वजनिक रूपमै प्रश्न उठेपछि जिल्ला सरकारी वकिलको कार्यालयले पनि यसबारेमा पुनः चासो लिएको छ । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि पनि अनुसन्धान गरी पूरक प्रतिवेदन ल्याउनु पर्ने ठानेको छ । सोझै महरा बाबुछोराको नाम किटान नगरेपनि प्रक्रिया नपुगेको सरकारी वकिलको कार्यालयको निष्कर्ष छ ।

सरकारी वकिलको कार्यालयले नै पत्र पठाएपछि प्रहरीले पनि महरा बाबुछोराको संलग्नताबारे तत्काल बलियो प्रमाण नभेटिएकाले निरन्तर अनुसन्धान भइरहेको भन्दै जोगिन खोजेको छ । भन्सारको गोदाममा रहेको इलेक्ट्रिक सिगरेट भेपभित्र रहेको सुन झिकेर त्यहाँ अरू सिगरेट राखिएको, त्यो सुन न्युरोडका व्यापारी वेदप्रकाश अग्रवालमार्फत चार–पाँच जना भारतीय नागरिकलाई बिक्री गरिएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *