Main News

आरजुले कामबाट पुष्टि गर्लिन् त, कृषककै छोरी भएको अभिव्यक्ति ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ११ गते २१:०४
आरजुले कामबाट पुष्टि गर्लिन् त, कृषककै छोरी भएको अभिव्यक्ति ?(भिडियो रिपोर्टसहित)

११ भदौ २०८० काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति बन्नुभएको छ ।

आफु सम्भ्रान्त राणा खानदानको रहेको बताउँदै आउनुभएकी आरजु कृषि समितिको सभापति बन्दा कतिपयले आश्चर्य मानेका छन् । अझ उहाँले त आफू किसानकै छोरी भएको दाबीसम्म गर्नुभयो । के कांग्रेसमा किसानबाट उठेर आएको कोही सांसद नभएरै राणाले अवसर पाउनुभएको हो ?

सगर्व आफूलाई सम्भ्रान्त राणा खानदानको बताइरहेकी यी पात्र हुनुहुन्छ, आरजु राणा देउवा। कांग्रेस केन्द्रीय सदस्य र सांसद भन्दा पनि उहाँलाई धेरैले चिन्ने पहिचान हो, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी । उसो त आरजुसँग सम्भ्रान्त पारिवारिक पृष्ठभूमि छ, विभिन्न दातृ निकायसँग काम गरेको मनग्गे अनुभव छ ।

जुन पृष्ठभूमिप्रति आरजुलाई गर्व पनि छ । तर, ९ महिनापछि मिनि संसदले नेतृत्व पाउँदा आरजुको रोजाईले भने धेरैलाई चकित बनाएको छ । आरजु कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बन्नुभयो ।

धेरैलाई लाग्छ, आरजुको अध्ययन, पृष्ठभूमि र पारिवारिक विरासत किसानसँग जोडिने समितिसँग मेल खान्न । यसअघि आफु सम्भ्रान्त परिवारमा हुर्किएको बताउँदै आउनुभएकी राणाले कृषि समिति सभापति बन्ने भएपछि आफुलाई किसानको छोरी भन्न थाल्नुभएको छ ।

तर, उहाँले हिमालय टेलिभिजनकै यक्ष प्रश्न कार्यक्रममा आफू जुद्ध शमशेरकी नातिनी भन्नुभएको थिएन, उहाँले त आफू सामन्त परिवारबाट विनोद शमशेरकी छोरी भएको बताउन भ्याउनुभएको थियो । यो हेरौं उहाँको भनाइ ।

तर, संसदको एउटा समितिको सभापति बन्नेवित्तिकै आरजुले त आफू सामान्य किसानकी छोरी पो भन्न थाल्नुभएको छ । संसदको सबैभन्दा ठूलो दल हो कांग्रेस । जसका ८९ सांसद छन् । ४ वटा संसदीय समितिको सभापति पाएको कांग्रेसमा संस्थापनले ३ वटा समितिले लिएर १ मात्रै इतर पक्षलाई दिएको छ ।

सभापति देउवाको एक छत्र रहेको संस्थापनसमूहबाट पार्टीकी छायाँ सभापति मानिने देउवा पत्नी आरजु स्वयं कृषि समितिको नेतृत्वमा आउनुभएको छ । के कांग्रेसमा किसान पृष्ठभूमिबाट उदाएका कोही सांसद छैनन् ? किन आरजु नै रोजाईमा पर्नुभयो ? के आरजु कृषि समितिका लागि उपयुक्त पात्र हुन् ?

मिनि संसदका रुपमा हेरिन्छ संसदीय समितिलाई । संसदको प्रभावकारिता समितिको कामकारवाहीले पनि निर्धारण गर्छ । त्यसैले समितिमा नेतृत्व दिँदा सो क्षेत्रमा जानकारी राख्नेहरुलाई प्राथमिकतामा राखिन्छ । तर, दलहरुले विषय विज्ञ वा जानकार भन्दा पनि शक्तिमा हुनेले जे आउँछ पद लिइहाल्ने प्रवृत्तिको उदाहरण कृषि समिति बनेको छ ।

यसअघि मन्त्रि बन्न रोकिएकी आरजुले समिति सभापति हात पार्न भने सफल हुनुभएको छ । सम्भ्रान्त राण परिवारकी आरजुको नेतृत्वका कृषि समिति कत्तिको प्रभावकारी बन्ला ? उहाँलाई सभापति बनाउने कांग्रेस निर्णय ठिक पुष्टि गर्ने गरि काम गर्नुहोला वा अझै विवादमा तानिनु होला ? त्यो थाहा पाउन भने केही समय पर्खनैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *