Main News

त्रिभुवनले दानमा दिएको जग्गामा वीरेन्द्रको बेइमानी, ट्रष्टको नजर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ११ गते २१:००
त्रिभुवनले दानमा दिएको जग्गामा वीरेन्द्रको बेइमानी, ट्रष्टको नजर (भिडियो रिपोर्टसहित)

११ भदौ २०८० काठमाडौं । दक्षिण काठमाडौंको फर्पिङमा रहेको त्रिभुवन आदर्श माध्यामिक विद्यालयको जग्गा तत्काल खाली गर्न नेपाल ट्रष्टले दबाब दिएपछि विद्यालय व्यवस्थापन समिति अन्योलमा परेको छ ।

तत्कालीन राजा त्रिभुवनले दानमा दिएको जग्गा राजा वीरेन्द्रले थाहै नदिई आफ्नो नाममा बनाएको र हाल आएर नेपाल ट्रष्टको नाममा गएको भन्ने सुनेपछि विद्यालय व्यवस्थापन उक्त जग्गामा आँखा नलगाउन गुहार माग्दै आएको छ । तत्कालीन राज परिवारको ग्रिष्मकालीन दरबार रहेको क्षेत्रमा अहिले देखिएको समस्या र यसको पृष्ठभूमि के हो ? हेरौँ ।

वि।सं। २००८ सालमा तत्कालीन राजा त्रिभुवन शाहले फर्पिङमा रहेको ‘स्वर्गको बगैँचा’ भनिने आफ्नो ग्रिष्मकालीन दरबार क्षेत्रलाई आवसीय विद्यालय सञ्चालनका लागि आफ्ना एक मित्र सत्यनारायणबहादुर श्रेष्ठलाई दिए ।
दक्षिणकाली नगरपालिका वडा नम्बर ५ अन्तर्गत कित्ता नम्बर ६ मा झण्डै ६८ रोपनी क्षेत्रफलमा फैलिएका यस दरबारमा त्यसै वर्ष माघ ४ गतेदेखि त्रिभुवन आदर्श विद्यालयका नाममा विद्यालय सञ्चालन भयो । त्यतिबेला सरकारी स्तरबा सञ्चालित यो विद्यालय पछि आएर सार्वजनिक शैक्षिक गुठी अन्तर्गत चलिरहेको छ।

२०२३ सालमा विद्यालय व्यवस्थापनले जग्गा अपुग भएको भन्दै गुहारेपछि तत्कालीन राजा महेन्द्रले यसैसँग जोडिएको जग्गासमेत अधिग्रहण गर्न लगाए । थप अधिग्रहण गरेको २३ रोपनी १२ आना जग्गाको नापजाँच सहितको लालपूर्जा विद्यालयसँग छ । त्यसअघि नै प्रदान गरिएको ६८ रोपनी जग्गा भने २०५२ सालमा तत्कालीन राजा वीरेन्द्रले विद्यालयलाई थाहै नदिई आफ्नो नाममा बनाए। तर यसरी वीरेन्द्रले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गर्दा विद्यालयलाई मोही बनाइएको पाइन्छ । विद्यालय व्यवस्थापन भने यसबारे आफूहरुलाई केही थाहा नै हुन नसकेको बताउँछ ।

२०६२–६३ को जनआन्दोलनपछि मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै तत्कालीन राजा र राजपरिवारका सदस्यको नाममा रहेको जग्गा खोज्ने र त्यसलाई नेपाल ट्रष्टमा ल्याउने तयारी भयो । २०६४ मंसिरमा स्थापना भएको नेपाल ट्रष्टले वीरेन्द्रको नाममा रहेका जग्गाका अभिलेखअनुसार विभिन्न ठाउँको जग्गा खोज्ने र फिर्ता लिने क्रममा त्रिभुवन आदर्श विद्यालयले भोगचलन गरिरहेको जग्गा पनि भेट्यो र फिर्ता गर्न भन्दै २०६८ माघ १९ गते पत्राचार गर्‍यो । यो विद्यालयले त्यसपछि मात्रै आफूले भोगचलन गरिरहेको जग्गा राजा वीरेन्द्रका नाममा गइसकेको थाहा पायो ।

अहिले पनि नेपाल ट्रष्टले यो जग्गा फिर्ताका लागि ताकेता गरिरहेको छ । कागजातका आधारमा नेपाल ट्रष्टको नाममा रहेको देखिएकाले ताकेता गर्नुपरेको ट्रष्टको भनाइ छ ।

राजा त्रिभुवनले दानमा दिएको, राजा महेन्द्रले पनि अपनत्व लिँदै सहयोग गर्दै आएको तर वीरेन्द्रले थाहै नदिई आफ्नो बनाएको यो जग्गा कुनै पनि हालतमा फिर्ता नगर्ने विद्यालय व्यवस्थापनको अडान छ । यस आवसीय विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुने गरेको छ । विद्यार्थी संख्या भने ३ सय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *