रारा विमानस्थल : अझै हुन सकेन टर्मिनल भवन निर्माण (भिडियो रिपोर्टसहित)

२०८० भदौ १० गते १७:१३
रारा विमानस्थल : अझै हुन सकेन टर्मिनल भवन निर्माण (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० मुगु । मुगुको एक मात्र हवाई मार्ग रारा विमानस्थल ताल्चमा निर्माणाधीन टर्मिनल भवन अलपत्र छ । चार वर्षअघि निर्माणको ठेक्का दिइएपनि ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण टर्मिनल भवन निर्माण अझै हुन सकेको छैन ।

रारा ताल्चा विमानस्थलको टावरसहितको टर्मिनल भवन निर्माणका लागि २०७६ साल असोज २ गते निर्माण सुरु गरी २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस इन्टरनेसनल कम्पनी काठमाडौँले ठेक्का लिएको थियो ।

आठ करोड ६५ लाखमा ठेक्का लागेको उक्त भवन पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । जस कारण आयोजना निर्माणका लागि ल्याइएका सामानमा खिया लाग्न थालेको छ भने केही सामग्री जीर्ण भइसकेका छन् । यतिमात्र होइन, स्थानीय कामदारले ज्याला समेत पाएका छैनन् ।

२०६० साल बैशाख ३ गतेदेखि पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान गरिएको थियो । विमानस्थलमा सहजरुपमा जहाजले अवतरण गरेपछि सबै जनाले स्वागत गरे । त्यस यता हवाईजहाज चल्न थाल्यो । २० वर्षदेखि उडान भइरहेपनि ब्यवस्थित टर्मिनल भवन र यात्रु कक्ष नहदाँ यात्रुलाई सुरक्षा चुनौती तथा यात्रमा सकस हुने गरेको छ ।

रारा ताल्चा एयरपोर्ट सञ्चालनका लागि पूर्वाधार नहुँदा काठको सानो घुम्तीबाट टर्मिनल भवन र नागरिक उड्डयन कार्यालय सञ्चालन हुँदै आएको छ । विमानस्थलको धावन मार्गको चौतर्फी सामान्य काँडेतार र अन्य तारको घेराबार भएपनि यात्रु र स्थानीय मानिसहरू धावन मार्गको बीचबाटै यात्रा गर्छन् । यही कारण पनि विमानस्थलको सुरक्षा दिन सुरक्षा निकायलाई धौ–धौ पर्ने गरेको छ ।

ताल्चा विमानस्थलमा रनवे ५७० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । राज्य कोषबाट करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको विमानस्थल अलपत्र छ । आकाशबाट पानी पर्दा टिन बज्ने, आवाज आउने, हावाहुरी चल्दा सुर्खेत, नेपालगन्जलगायत अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क गर्न समस्या पर्ने गरेको छ ।

रारा विमानस्थल ताल्चा पर्यटकीय विमानस्थल हो । पर्यटक आवतजावत हुने विमानस्थलमा व्यवस्थित टावर र टर्मिनल भवन नहुँदा सुरक्षा चुनौती त छँदैछ । अन्य सुरक्षा खतरा बढ्ने सम्भावाना पनि उत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *