Main News

नेकपा एसमा माधव- झलनाथबीच मतभेद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ६ गते २०:५०
नेकपा एसमा माधव- झलनाथबीच मतभेद (भिडियो रिपोर्टसहित)

६ भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको जारी केन्द्रीय समिति बैठकमा जनताको बहुदलीय जनवाद जबजका विषयमा पार्टी अध्यक्ष माधव नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच मत बाझिएको छ ।

त्यसो त खनालले जबजको औचित्य समाप्त भइसकेको पहिलेदेखि नै बताउँदै आउनुभएको थियो भने अध्यक्ष नेपालले जबज अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै आउनुभएको छ । के हो एकीकृत समाजवादीभित्रको जबज विवाद ?

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले २०४९ मा भएको पार्टीको पाँचौ महाधिवेशनमा पेश गरेको जनताको बहुदलीय जनवाद जबज नामको प्रतिवेदनलाई त्यसयता एमालेले पार्टीको राजनीतिक कार्यक्रम बनाउँदै आएको छ । जबज कुनै नयाँ विचार वा वादभन्दा पनि पार्टीको स्वअनुसशासन र मुलुक सञ्चालनको मोटिभ थियो ।

तर मदन भण्डारीको निधनसँगै जबजलाई एमालेले पार्टीको विचार, सिद्धान्त, दृष्टिकोण तथा मार्गदर्शकका रुपमा प्रचार गर्‍यो ।

२०७४ को निर्वाचनपछि माओवादीसँग एकीकरणमा जाँदा सबैभन्दा बढी समय बल्झिएको विवाद भनेकै जबज छोड्ने कि बोक्ने भन्ने थियो । शीर्ष नेताबीच लेनदेन मिलिसक्दा माधव नेपालसहित सम्मानजनक भाग नपाएका नेतालाई चर्चामा आउनुपरे बोल्ने विषय जबज नै थियो ।

२०७८ मा एमालेबाट विभाजित भएपछि बनेको नेकपा एकीकृत समाजवादीको पहिलो बैठकले त जबजलाई नै पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गर्‍यो । एमाले छोडे पनि जबज नछोड्ने निर्णय गरिनुमा एमालेपंक्तिलाई पार्टीमा भित्र्याउने रणनीतिक उपाय थियो ।

हाल जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालले जबजको औचित्य अझै पनि नसकिएको धारणासहितको प्रतिवेदन पेश गर्नुभयो । जबजलाई पार्टीको प्रतिवेदनमा स्थान दिएपछि सम्मानित नेता झलनाथ खनालले यसको औचित्य समाप्त भइसकेको भन्दै प्रतिवाद गर्नुभएको छ । खनालले विगतमा प्रणाली व्यवस्थित नहुँदा मात्र जबज आवश्यक रहेको स्मरण गर्दै संविधान जारी भएसँगै जबजको औचित्य समाप्त भइसकेको उल्लेख गर्नुभएको छ । उहाँसँगै थुप्रै नेतालाई जबजको अब कुनै औचित्य रहेको जस्तो लाग्दैन ।

गत वर्षको असोजमा आफ्नो पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ विमोचनमा नै खनालले जबज सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्ने मार्गदर्शक आदर्श भएको र समाजवाद उन्मुख संविधान बनेसँगै जबजको औचित्य समाप्त भइसकेको बताउनु भएको थियो ।

यतिबेला पुनः पार्टीको दस्ताबेजमा जबजको कुरा उल्लेख भएपछि खनालले अध्यक्षको प्रतिवेदनप्रति थप रुष्ट हुँदै यसले पार्टीमा विग्रहको बिउसमेत रोपेको उल्लेख गर्नुभएको छ । उहाँले प्रतिवेदनमाथिको छलफल चलिसक्दा आफूले भनेजस्तो नभए पार्टी र वाम आन्दोलनसमेत संकटमा पर्ने चेतावनी दिनुभएको छ । जबजलगायत पार्टीको आन्तरिक र वाह्य अन्तरविरोधबारे स्पष्ट नभए नराम्रो हुनेसमेत चेतावनी दिइरहँदा एकीकृत समाजवादीभित्र सैद्धान्तिक विमति मात्र हो वा अन्तरगुटको चिसोपनले अल्सरको रुप लिइसकेको भन्ने प्रश्न उब्जिएको छ । तर कतिपय नेताहरु पार्टीमा सामान्य वैचारिक असहमति हुनु सामान्य रहेको दाबी गर्छन् ।

एकीकृत समाजवादीमा देखिएको यो विवाद पार्टी कमजोर हुँदै जानुको उपजसमेत हो । पार्टीका नेताहरुको आपसी असमझदारी, पार्टी कार्यकर्ताको तीव्र पलायन, गठबन्धनकै विषयमा असहमति जस्ता कुराले एकीकृत समाजवादी थप स्खलित हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *