ल्याण्डफिल्ड सञ्चालनमा तानसेन नगरपालिकाको बेवास्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ६ गते २०:४२
ल्याण्डफिल्ड सञ्चालनमा तानसेन नगरपालिकाको बेवास्ता (भिडियो रिपोर्टसहित)

६ भदौ २०८० पाल्पा । एघार वर्षअघि निर्माण गरिएको स्यानेटरी ल्याण्डफिल्ड प्रयोगविहीन हुँदा पाल्पाको तानसेनमा फोहर व्यवस्थापनमा समस्या देखिएको छ ।

सहमतिअनुसार प्रयोग नगरिएको भन्दै स्थानीयले विरोध जनाएपछि ल्याण्डफिल्ड साइट एक वर्षमै बन्द भएको थियो । त्यसयता नगरपालिकाले ल्याण्डफिल्ड साइट सञ्चालनका लागि पहल नै गरेको छैन ।

एक करोड ६१ लाख रुपैयाँमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट २०६९ असोज २५ गते सञ्चालनमा आएको थियो । तर नगरपालिकाले २५ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै गणशाल गाउँका ५२ घरधुरी विरोधमा उत्रिए ।

नगरपालिकाले न त विरोध शान्त पार्न सक्यो, न ल्याण्डफिल्ड व्यवस्थापनका लागि थप चासो दियो । ठूलो लगानी गरिएको साइट अहिलेसम्म बन्द नै छ, स्थानीय आक्रोशित छन् ।

जनप्रतिनिधि नभएको अवस्थामा सञ्चालनका लागि पहल नभएको ल्याण्डफिल्ड साइटमा जनप्रतिनिधि आएपछि पनि वास्ता गरिएन । अघिल्लो कार्यकालका जनप्रतिनिधिले उक्त ल्याण्डफिल्ड साइट सञ्चालन गर्न कुनै पनि पहल गरेनन् । अहिले नगरपालिकामा नयाँ नेतृत्व आएको पनि एक वर्षभन्दा बढी भयो । तर नयाँ नेतृत्वसमेत साईट सञ्चालनमा जिम्मेवार देखिँदैन ।

व्यवस्थित ल्याण्डफिल्ड चलाउन नसकेको नगरपालिकाले बजारको फोहर २०७० असोजबाटै वनदेवीस्थित जंगलमा फाल्दै आएको छ । १४ वटा वडा रहेको नगरपालिकामा दैनिक १० टन हाराहारी फोहोर संकलन हुन्छ। यत्रो फोहर खुलारुपमै फालिँदा यसले थप समस्या निम्तिने भन्दै नगरवासीले नगरपालिकालाई दबाब दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *