Main News

बागमती प्रदेशसभा ४५ दिनदेखि ठप्प (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३ गते २०:५३
बागमती प्रदेशसभा ४५ दिनदेखि ठप्प (भिडियो रिपोर्टसहित)

३ भदौ २०८० हेटौंडा । बागमती प्रदेशसभा ४५ दिनदेखि ठप्प छ । गत असार २१ गते बजेट पारित गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा बैठक हालसम्म पनि आह्वान भएको छैन । सरकारले सदनमा नयाँ विधेयक दर्ता नगर्दा कानुन निर्माणको प्रक्रियासमेत ठप्प छ ।

बाध्यकारी अवस्थामा मात्रै बैठक बस्दै आएको बागमती प्रदेशसभा डेढ महिनादेखि ठप्प छ । चालु आर्थिक वर्ष २०८०–८१ का लागि बजेट पारित गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा अझै बस्न सकेको छैन ।

सर्वदलीय सहमतिपश्चात् बहुमतबाट बजेट पारित गरेसँगै असार २१ गतेबाट अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । असार १२ गतेदेखि बजेटमाथिको छलफल गर्न बैठक राखिए पनि प्रतिपक्षी दलको अवरोधका कारण सदन अवरुद्ध भएको थियो ।

निरन्तर ४ वटा बैठकमा प्रतिपक्षी दल एमाले, राप्रपा र नेमकिपाले मोर्चाबन्दी गरेर अवरोध सिर्जना गरेपछि सरकारले उनीहरुसँग सहमति गरेर बजेट पारित गरेको थियो । त्यसयता प्रदेशसभा बैठक बस्न सकेको छैन जसका कारण प्रदेश सरकारको आलोचना भइरहेको छ ।

सरकारले सदनलाई बिजनेस दिननसकेको प्रतिपक्षी दलको आरोप छ । विपद्को समयमा समेत सदन सञ्चालन नगरी जनताको गुनासो सम्बोधन गर्न छाडेर जिम्मेवारीबाट पन्छिरहेको एमालेको तर्क छ । प्रमुख प्रतिपक्षी दल एमालेले तत्काल प्रदेशसभा सञ्चालन गर्नुपर्ने माग गरेको छ ।प्रदेश सरकारले संसदलाई बिजनेसविहीन बनाएर निष्क्रिय पार्न खोजेको उसको आरोप छ ।

प्रदेशसभा बैठक नबस्दा सरकारले सदनमा नयाँ विधेयक दर्ता गराउन सकेको छैन । किसानका लागि महत्वपूर्ण मानिएको कृषि विकास विधेयक अलपत्र परेको छ । त्यस्तै निर्वाचनको ७ महिना बित्दासमेत संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन ।तर सत्तापक्षका सांसद तथा मन्त्री भने सरकारकै बचाउ गर्छन् ।

बागमती प्रदेशमा आवश्यक धेरै कानुन बन्न बाँकी छ । आवश्यक नै नभएको विवादित चिठ्ठा विधेयक ल्याउन हतार गर्ने सरकारले अन्य थुप्रै अत्यावश्यक कानुन बनाउन भने चासो देखाएको छैन । गत मंसिरमा भएको निर्वाचनपश्चात् यस अवधिमा प्रदेशसभाको २ वटा अधिवेशन सञ्चालन भएका छन् ।

जसमा ४६ वटा बैठक बसेको छ । पुस १८ गतेदेखि सञ्चालन भएको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा जम्मा १८ वटा बैठक बसेका थिए भने दोस्रो अधिवेशनमा २८ वटा बैठक बसेको थियो ।

बैठकमा प्रदेश सरकारका तर्फबाट दर्ता भएका ४ वटा विधेयक पारित गरिएको छ भने प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ४ वटा विधेयक पारित गरिएको थियो । प्रदेशसभाबाट २ वटा अध्यादेशको प्रतिस्थापन र २ वटा विधेयक पास भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *