Main News

मदन र पद्मश्री पुरस्कारका लागि २०७९ को श्रेष्ठ सूची सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २ गते १८:१६
मदन र पद्मश्री पुरस्कारका लागि २०७९ को श्रेष्ठ सूची सार्वजनिक (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० काठमाडौं । प्रतिष्ठित र सर्वाधिक पुरस्कार राशीका मदन र पद्म श्री पुरस्कारका लागि २०७९ को श्रेष्ठ सूची सार्वजनिक भएका छन ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार र खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्म श्री पुस्कारका लागि पाँच(पाँच पुस्तकको सूची सार्वजनिक गरेका हुन । पाँच मध्ये दुई कृत्ति इजोरिया र ऐंठन दुबै पुरस्कारका लागि उत्कृष्ट पाँचमा समावेश छन ।

मदन पुरस्कार गुठीले कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानेको छ । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ। मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा २०१२ असोज १० गते भएको थियो।

२०१३ सालमा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ पाउनु भएको थियो । यो वर्ष मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका कृत्ति हेरौं । यो पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ ।

इजोरिया
इजोरिया फाइन प्रिन्टले प्रकाशन गरेको सुविन भट्टराईको पाँचौ उपन्यास हो । इजोरिया मैथिली शब्द हो जसको अर्थ ‘जुनेली’ हुन्छ । काठमाडौं केन्द्रीत विषयवस्तुमा उपन्यास लेख्ने किशोर तथा युवापुस्तामाझ लोकप्रिय भट्टराईले यो पटक तराईको सामान्य पारिवारभित्र देखिने प्रेम, घृष्णा र द्वन्द्वलाई उपन्यासको विषय बनाउनुभएकोछ । स्थानीय बोलीचालीको भाषा भरपुर प्रयोग गरिएको छ ।

ऐंठन
विवेक ओझाले लेखेको ऐंठन उपन्यास दुई दशकअघि माओवादी विद्रोहको वेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ।साङ्ग्रिला बूक्सले प्रकाशन गरेको उपन्यासमा द्वन्द्वकालका भयावह र बर्बर घटना समेटिएका छन्।

चक्रव्यूहमा नेपालको जलस्रोत
नेपाल सरकारका पूर्व सचिव ढुंगेलकृत चक्रव्यूहमा नेपालको जलस्रोत  गैरआख्यान हो। सिमल बूक्स पब्लिकेशनद्वारा प्रकाशन गरिएको यो पुस्तक ढुंगेलको पेशागत अनुभवको उपज हो। यसमा मुख्यतः महाकाली सन्धि र मन्त्रालयमा त्यसबारे गरिएको गृहकार्यको विवरण छ। किताबमा कुन कुन बेला, कस कसको पालामा नेपालका खोलानाला र जलस्रोतमाथि कसकसले सम्झौता गर्यो भन्नेबारे फेहरिस्त छ ।

थाङ्ग्रा
मदन पुरस्कारको उत्कृष्ठ सूचीमा परेको प्रगति राईद्वारा लिखित तेस्रो उपन्यास थाङ्ग्राले पितृसत्ताको परम्परामाथि धावा बोलेको छ । छोरी परिवारको सपनाको संवाहक बन्न सक्ने, वंश धारण गर्न सक्ने विषयमा उपन्यास केन्द्रित छ । उपन्यासमा पूर्वी भेगकी एउटी राई छोरी सुदूरपश्चिम बैतडीको दलित युवकसँग प्रेम, विवाह गरेको कथा छ । उपन्यास फिनिक्स बूक्सले प्रकाशन गरेको हो । 

माटाको घर
सञ्जय विष्टले लेखेको उपन्यास माटोको घरमा माटाको लागि गरिएका संघर्षको कथा छ। दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनबाट सृजित बेमेल परिस्थितिलाई पुस्तकमा वर्णन गरिएको छ। यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ ।

३ लाख राशी रहेको पद्म श्री पुरस्कारका लागि मदन पुरस्कारको उत्कृष्ठ पाँचमा परेका दुई कृति इजोरिया र ऐंठन पनि समावेश छन । यी दुई बाहेक पद्म श्री पुरस्कारका लागि डा। देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा। नवराज केसीको शून्यको मूल्य परेका छन । पद्मश्री पुरस्कार वि।सं।२०६३ देखि प्रदान गर्न थालिएको हो । यसपटक १ सय ८० पुस्तकबाट उत्कृष्ठ पाँच छानिएको छ ।

शून्यको मूल्य
बालरोग विशेषज्ञ डाक्टर नवराज केसीद्वारा लिखित गैरअख्यान शून्यको मूल्य सास, साहस र स्नेहको कथा हो । शून्यको मूल्यमा कर्णालीका महिलाले भोग्नुपरेको प्रसव पीडालाई चित्रण गरिएको छ । बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले कर्णालीका दुर्गम ठाउँमा पुगेर काम गर्दै गर्दा देखेका त्यहाँका आमाको सास, साहस र स्नेहका कथाहरुको संगालो ‘शून्यको मूल्य’ हो ।

मनु
लेखक डा। देवीप्रसाद सुवेदीको उपन्यास ूमनुू गत बर्ष चैतमा प्रकाशनमा आएको हो । पुस्तक मनुमा ॠग्वेदकालीन पात्र, चरित्र र समाजको चित्रण गरिएको छ । मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले रोचक ढङ्गले चित्रण गरेको छ । नेपाली भाषा साहित्यका ज्ञाता डा देवीप्रसाद सुवेदीद्वारा लिखित ऋग्वेदकालीन उपन्यास ‘मनु’ नेपाली सभ्यताको जरासम्म पुग्न र भाषा संस्कृतिलाई बुझ्न पनि पुस्तक मनुले सहयोग गर्ने छ ।

मफलर
मफलर प्रदिप रोदनको पहिलो गजलकृति हो । गत बर्षको असोजमा सार्वजनिक गरिएको मफलरमा गजलकार रोदनले १०८ गजल र १०८ नै फर्द समावेश गरेका छन् । विदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *