Main News

कर्णालीको उडानमा प्राधिकरणको गलत निर्णय, ज्यान गुमाउँदै नागरिक (भिडियो रिपोर्टसहित)

कर्णालीको उडानमा प्राधिकरणको गलत निर्णय, ज्यान गुमाउँदै नागरिक (भिडियो रिपोर्टसहित)

३२ साउन २०८० काठमाडौं । भौगोलिक विकटता भएको क्षेत्रमा सेवा प्रवाहमा थप प्राथमिकता र सहुलियत दिनुपर्ने हो । तर सरकारले कर्णाली विकट र प्रताडित छ भन्ने थाहा पाएरै हेपाह व्यवहार गर्ने गरेको छ ।

यसको पछिल्लो उदाहरण हो सडक सञ्जाल राम्रो नभएको कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवामा गरिएको विभेद । यो विभेदले हिमाली जिल्लामा कयौँ नवजात शिशुको ज्यान लिएको छ भने जहाज उड्ला र उपचार गर्न राम्रा अस्पताल जाउँला भनेर बसेका नागरिक थला परिरहेका छन् ।

६ महिने छोरा इमरान बिरामी परेपछि हुम्लाको सिमकोट गाउँपालिका ६ का सुरज सुनार जिल्ला अस्पताल पुग्छन् । परीक्षण गराउँदा निमोनिया, झाडा पखालासहित जटिल संक्रमण देखिएपछि जिल्ला अस्पतालले ठूलो अस्पताल रेफर गर्छ । साउन १७ गते रेफर गरिएपछि सुरज छोरालाई नेपालगंज लैजाने विमान कुरेर बस्छन् ।

नागरिक उड्ययन प्राधिकरणले साउन १४ गतेदेखि मध्यान्न १२ बजेपछि कर्णालीमा उडान रोकेपछि दिउँसो जहाज आउन छोडेको छ । जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको मृत्यु हुन्छ ।

साउन १८ गते अस्पताल भर्ना भएका सिमकोट (७ की लालकला शाहीका ६ महिने छोरा रोहितलाई पनि जिल्लाबहिरको अस्पतालमा रेफर गरिन्छ, जहाज कुर्दाकुर्दै २४ गते उनको मृत्यु हुन्छ ।

हुम्लाकै खार्पुनाथ गाउँपालिकाका १७ महिने बालक आर्यन परियार र चंखेली गाउँपालिकाका पाँच महिने शिशु सन्देश लुहारको पनि उपचारका लागि नेपालगंजको जहाज चढ्ने आशमै मृत्यु भइसकेको छ । यो हुम्लाको मात्र तथ्यांक हो । जसले अस्पतालबाट रेफर भएर विमानस्थलमा ज्यान गुमाएका छन् ।

उपचार तथा अत्यावस्यक कामका लागि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने कर्णालीका नागरिकको दैनिकी बिहान विमानस्थल पुग्ने र १२ बजेपछि घर फर्किँदैमा बित्ने गरेको छ ।
वर्खाको समयमा सडक राम्रोसँग चल्दैनन् भन्ने थाहा हुँदाहुँदै जहाज उडानको अव्यवहारिक तालिका जारी गर्नु कर्णालीमाथि सरकारको जानजान हेपाह व्यवहार भएको स्थानीयको गुनासो छ ।

उच्च पहाडी र हिमाली जिल्लामा बिहानको समयमा हुस्सु र कुहिरोका कारण विमान उड्दैनन् । मौसम खुलेर विमान उड्ने ठिक्क समय १२ बजेदिख उडानमा रोक लगाइएको छ । यही समस्याले बिरामी भएका त मृत्युको मुखमा पुगेका छन् नै बाँकी नागरिक भोकमरीको चपेटामा पर्ने जोखिम बढेको छ । स्थानीय अस्पतालमा सिटामोलको समेत अभाव भइसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाको लागि ुसेफ्टी प्रोटोकलु लाई कडाइका साथ लागु गरेको बताउँछ । तर दुर्घटना रोक्ने नाममा सुरक्षित उपायहरु अवलम्बन गर्नुको साटो हवाई उडान नै रोकेर माथिल्लो कर्णालीवासीको ज्यान सरकारले नै लिइरहेको छ । कर्णालीको प्रातडनामा सरकार कहिले बनिदेला गम्भीर ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *