Main News

गौर हत्याकाण्ड : राजेन्द्र पाण्डेको अभिव्यक्तिमा आम जनता पार्टी आक्रोशित (भिडियो रिपोर्टसहित)

२०८० साउन ३० गते २०:५५
गौर हत्याकाण्ड : राजेन्द्र पाण्डेको अभिव्यक्तिमा आम जनता पार्टी आक्रोशित (भिडियो रिपोर्टसहित)

३० साउन २०८० काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गौर हत्याकाण्ड उचाल्ने व्यक्ति आफैं चारवटा हत्याकाण्डको नाइके भनेको प्रति आम जनता पार्टी आक्रोशित बनेकोछ ।

आजपाले विरोध मात्र होइन, सरकारको धारणा मागेको छ । पाण्डेले भनेजस्तै हो भने प्रभु साहलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ कि पर्दैन ? गलत हो भने पाण्डेलाई कारवाही हुनुपर्छ कि पर्दैन ? प्रश्न उठेको छ ।

सत्तारुढ गठबन्धन नेपालमा भएका ठूल्ठूला काण्डमा मुछिएका ठूला नेतालाई उन्मुक्ति दिन दिलो ज्यान लगाएर उत्रिएको छ । सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकले गौर काण्डलाई स्टन्टका रुपमा उचालेको निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सञ्चारकर्मीसँगको कुराकानीमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको नाम नलिइ संगीन आरोप लगाउनुभएको छ । पाण्डेले साह चारवटा हत्याकाण्डमा मुछिएको बताइरहँदा गठबन्धनको बैठकमा यही विषय राम्रैसँग प्रवेश पाएको बुझ्न सकिन्छ । सुनौं पाण्डेको यो आरोप ।

पाण्डेले सुरुमै गौर काण्ड उचाल्ने प्रभु साह आफैं काशी तिवारीसहित चार वटा हत्याकाण्डमा मुछिएको आरोप लगाउनुभएको यो दृश्य हेर्यौं । त्यसो भए प्रभु साहलाई किन उन्मुक्ति दिइयो ? प्रभु साह कसरी सांसद बन्न योग्य हुनुभयो ? यी प्रश्नहरु वर्तमान सरकार समक्ष सोझिएको छ ।

यो आरोपलाई आम जनता पार्टीले सहज लिएको छैन । पक्कै पनि सरकारको नेतृत्व गरिरहेका दलका नेताले आफ्ना अध्यक्षमाथि लगाएको संगिन आरोपमा आजपाले जवाफ खोज्नु स्वभाविक हो । आजपा क्रुद्ध छ । विज्ञप्ती नै निकालेर आधारहिन कपोकल्पित र भ्रम फैलाएर गौर हत्याका पीडित परिवारलाई न्याय दिननखोजेको आरोप पनि आजपाले लगाएको छ । आजपाले सत्तागठबन्धनकै धारणा हो वा पाण्डेको व्यक्तिगत धारणा हो प्रष्टता खोजेको छ ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन माओवादी र मधेशी जनधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जना घटनास्थलमा र १ जना उपचारका क्रममा मारिएका थिए । त्यस घटनाबारेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा तत्कालीन फोरमले कार्यक्रम गरेकै स्थानमा माओवादीको मधेशी मोर्चाले पनि कार्यक्रम गर्दा विवाद भइ घटना हिंसात्मक बनेको उल्लेख छ ।

सरकारका तर्फबाट पनि २ वटा छानबिन आयोग बनेको थियो, माओवादीले पनि आन्तरिक समिति बनाएको थियो । ति प्रतिवेदनहरु सार्वजनिक भएनन् । पीडितले न्याय नपाएकोभन्दै केही समयदेखि उनीहरु प्रदर्शनमा थिए । उनीहरुको माग सम्बोधन गर्न साउन २३ गते सरकारले छानबिन गर्न सहमति जनाएको थियो । तर, तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव अहिले जनता समाजवादी पार्टी जसपाको अध्यक्ष हुनुहुन्छ ।

उहाँसमेत तानिने भएपछि सरकार ढाल्ने चेतावनीसँगै घटनाको छानबिन नहुने अवस्था आएको छ । यो प्रकरणमा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको अभिव्यक्तिले प्रभु साहलाई चारवटा हत्याका नाइके भनेपनि राजनीति तरंगित बनेको छ । साहमाथि जघन्य अपराधको आरोप लाग्दा छानबिन हुन्छ कि हुँदैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *