Main News

विमानस्थल बाहिर बरामद सुनको तौल लिन सुरु, कति भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २९ गते २१:०६
विमानस्थल बाहिर बरामद सुनको तौल लिन सुरु, कति भयो ? (भिडियो रिपोर्टसहित)

२९ साउन २०८० काठमाडौं । साउन २ गते बरामद गरिएको एक क्विन्टल सुन आजबाट जोख्न सुरु गरिएको छ । बरामद भएको २६ दिनपछि राष्ट्र बैँकको टक्सार महाशाखामा ब्रेक शुबाट सुन छुट्याएर जोख्न सुरु गरिएको हो । सुन छुट्याएपछि गालेर सुनको वास्तविक तौल जोखिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक क्विन्टल सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालिएको हो ।

राजस्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण एकिन गर्न सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखायो । जसमा ब्रेकसुभित्र सुन टाँसिएको जस्तो देखिन्थ्यो ।

सुरुमा ब्रेक सु र सुन छुट्याइन्छ । त्यसपछि सुनलाई गालेर जोखिनेछ । सुन जोख्न सबैभन्दा पहिला गलाइन्छ र गलाउनका लागि पनि ‘गलान कमिटी’ बनाइन्छ । सुनभित्र पनि मिसावट हुनसक्ने भएका कारण वा प्रक्रियाअनुसार सुन गलाएर मात्र जोख्ने गरिन्छ । किनकि, सुन नगलाइकन कति मात्रामा छ भन्ने एकिन हुँदैन ।

सुन उच्च तापक्रममा गलाउनुपर्छ । ठूलो मात्रामा सुन गलाउनका लागि राष्ट्र ब्याङ्कमा ‘फर्निस’ भट्टी छ । त्यसपछि भने अझ वास्तविक तौल पत्ता लाग्छ । त्यस्तो गुणस्तरलाई ‘टच’ भनिन्छ । सुन गलाएपछि त्यो दिन सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति चलेको छ त्यो मूल्यलाई आधार मानेर मूल्य निकालिन्छ । त्यो मूल्यमा पाँच प्रतिशत थपेर सरकारको खातामा पैसा जम्मा गरिन्छ ।

साउन ४ मा टक्सार विभागले ब्रेक शुसहित सुन १ सय ५५ किलो जोखेको थियो । तर अब भने वास्तविक सुन मात्रै अलग गरिनेछ । धेरै परिमाणमा सुन भएकाले गलाउनका लागि तीनदेखि चार दिनसम्म लाग्ने छ । एक पटकमा १० किलोग्राम सुन गलाउन सकिन्छ । १० किलो सुन गलाउने प्रक्रिया पूरा गन दुई घण्टासम्म लाग्ने छ । सुन मिसावटमुक्त गुणस्तरीय भएको खन्डमा तीनपटक गरी एकै दिन ३० केजीसम्म गलाउन सकिन्छ । महाशाखाले तीन दिनभित्र सकाउने दावी गरेको छ ।

गत साउन १४ मा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाममा छापा मारेको थियो । जसमा सरकारसँग भएका भन्दा ठूलाठूला सुन पगाल्ने र गलाउने मेसिन फेला परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *