मुगुमा सञ्चारको सास्ती : आउँदैन नेटवर्क, कल गर्न अग्लो डाँडो खोज्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

२०८० साउन २७ गते २०:३४
मुगुमा सञ्चारको सास्ती : आउँदैन नेटवर्क, कल गर्न अग्लो डाँडो खोज्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा नुन, चामलमात्र होइन, गतिलो सञ्चार सेवाको पनि अभाव छ ।

राष्ट्रको सञ्चार भन्ने नारा घन्काउने नेपाल टेलिकम मुगुबासीको संचार सेवामा गम्भीर छैन । जसका कारण नागरिक एउटा फोन गर्नका लागि पनि अग्लो डाँडो खोज्दै जानुपर्छ ।

मुगु जिल्लामा एउटा नगरपालिका र तीनवटा गाउँपालिका छन् । जिल्लाभरी संचार सेवाको पहुँच बढाउनका लागि नेपाल टेलिकमले एघारवटा टावर निर्माणको काम थालनी गरेको चार वर्ष भइसक्यो । तीन वटा टावर सञ्चालनमा रहेपनि मुख्य रिपिटर टावर नचल्दा मुगुबासी एक कलका लागि अग्ला डाँडा खोज्दै हिँड्न बाध्य छन् ।

टावर निर्माणको जिम्मा सीसीएसआई र जलजला कम्पनीले संयुक्त रुपमा लिएका छन् । तर, एघारमध्ये बल्ल तीनवटा टावर संचालनमा छन् । अरु तीनवटा टावरको निर्माण सकिएपनि संचालनमा आएका छैनन् । मुख्य रिपिटर टावर संचालनमा नआउँदा बनिसकेका टावरबाट सेवा प्रवाह हुन सकेको छैन ।

आर्थिक वर्ष २०७६–०७७ बाट मुगु जिल्लाका चार पालिकालाई फोर जि सहितको सञ्चार सेवा पुर्याउने लक्ष्य सहित निर्माण कार्य थालिएको नेपाल टेलिकमका टावर अहिले कोहि निर्माण भएर सञ्चालनमा आउन सकेका छैनन भने कोहि अलपत्र छन् ।

निर्माण जिम्मा लिएको सी सी एस आईले आफ्ना तर्फबाट टावर निर्माणको काम सकिसकेको दाबी गरेको छ । तर, नेपाल टेलिकम जिल्ला शाखा मुगुलाई भने यसबारे कुनै जानकारी छैन ।

मुगुमा स्वास्थ्य, नुन, चामल, हवाई सडकको मात्र समस्या छैन । केही स्थानमा संचालनमा रहेका नेपाल टेलिकमको सेवाप्रवाह पनि मुगुमा गतिलो छैन । मौसम परिर्वतन संगै नेपाल टेलिकमको सेवा प्रवाहमा परिर्वतन हुन्छ । कछुवाको गतिमा रहेकोे ईन्टरनेट सेवाले मुगुका सेवाग्राही आजित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *