Main News

कोशी प्रदेशमा कोरोनाको समयमा खरिद गरिएका अर्बौका उपकरण प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २४ गते २०:२८
कोशी प्रदेशमा कोरोनाको समयमा खरिद गरिएका अर्बौका उपकरण प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० विराटनगर । कोरोना महामारीको समयमा अर्बौं रकम खर्चिएर ल्याइएका उपकरणको अवस्था कोशी प्रदेशमा पनि दयनीय छ ।

राज्यको ठूलो रकम खर्च भएका उपकरण कतै गोदाममा थन्किएका छन् भने कतै जनशक्तिको अभावमा सञ्चालन हुन सकेका छैनन् । जसका कारण एकातिर उपकरणहरु बिग्रिने अवस्थमा छन् भने अर्कोतिर बिरामीले शुलभ सेवा पाउन सकिरहेका छैनन् ।

आर्थिक वर्ष २०७७–७८ मा जिल्ला अस्पताल ताप्लेजुङका लागि एक करोड ८ लाख रुपैयाँमा दुईवटा भेन्टिलेटर, ५ वटा आईसीयू, इलेक्ट्रिक बेड लगायत उपकरण खरिद गरिएको थियो । बेडबाहेक सबै उपकरण गोदाममै थन्किएका छन् ।

पाँचथर अस्पतालमा दुई करोडको लागतमा दुईवटा आइसीयु र चारवटा भेन्टिलेटर जडान गरिएको थियो । जनशक्ति अभावमा ती उपकरण प्रयोगविहीन छन् ।

इलाम अस्पतालमा दुईवटा भेन्टिलेटर र पाँचवटा आईसीयु ल्याइयो । ती उपकरण पनि थन्किएका छन् ।

तेह्रथुममा रहेका दुईवटा भेन्टिलेटरको अवस्था पनि उस्तै छ । खोटाङमा बालबालिकाको उपचारका लागि ल्याइएको पेडियाट्रिक भेन्टिलेटर पनि थन्किएको छ । भोजपुरमा रहेका चारवटा, सोलुखुम्बु, उदयपुर र ओखलढुंगामा रहेका दुई दुईवटा भेन्टिलेटर प्रयोगविहीन छन् । संखुवासभामा रहेका चारवटा भेन्टिलेटरमध्ये दुईवटा प्रयोगमा छन् भने बाँकी दुई थन्किएका छन् ।

धनकुटामा दुई करोडको लागतमा ल्याइएका चारवटा भेन्टिलेटर र ६ वटा आईसीयु बेड तयार भएको तीस महिना वितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । जनशक्तिको अभावका कारण अस्पतालले उपकरणहरु प्रयोगमा ल्याउन सकेको छैन ।

झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा रहेको स्वास्थ्य उपकरणको हालत पनि उस्तै छ । दुई वर्षअघि प्रदेश सरकार र अस्पतालको लगानीमा सात थान भेन्टिलेटर र दाताको सहयोगमा थप १० थान सहित १७ थान भेन्टिलेटरसहितको आइसियु कक्ष अस्पतालमा तयार गरिएको थियो । तर दुई वर्षयता ३ वटा भेन्टिलेटरबाहेकका उपकरण सञ्चालन हुने अवस्थामा छैनन् ।

कोभिड सुरु भए लगत्तै प्रदेश सरकार मातहतमा संचालन गर्ने गरी अत्याधुनिक उपकरणसहितको दुई सय शैय्याको कोभिड अस्पताल सञ्चालन गरिएको थियो । अस्पतालमा ३६ वटा भेन्टिलेटर, २१ वटा आइसियु, ४७ वटा एचडीयूको व्यवस्था छ। तर, खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले केन्द्रले ओगटेको जग्गाको भाडा भुक्तानी बापत ३६ करोड तिर्नुपरेपछि केन्द्र सञ्चालन गर्ने वा छोड्नेमा अन्योल देखिएको छ । त्यहाँ रहेका उपकरणको अवस्थाबारे सरकार नै बेखबर छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय कोशीमा कोरोना महामारीका समयमा कोरोना महामारी नियन्त्रणमा तीन बर्षमा एक अर्ब ८३ करोड ३१ लाख रुपैयाँ खर्च भएको तथ्याङ छ । तर सरकारसँग कुन मूल्यको कुन उपकरण खरिद गरियो भन्ने तथ्यांक छैन ।

आर्थिक वर्ष ०७६–०७७ मा ६८ करोड २४ लाख
आर्थिक वर्ष ०७७–०७८ मा ७० करोड
आर्थिक वर्ष ०७८–८९ मा ४४ करोड ९४ लाख

कोरोना कालमा करोडौं खर्चेर जिल्ला जिल्लामा पुराइएका भेन्टिलेटर प्रयोगमा ल्याउन ठूलो चुनौती रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ ।

दातृ निकाय, जनस्तर र संघ संस्थाको सहयोगमा अत्याधुनिक उपकरणसहितको दुई सय शैय्याको कोभिड अस्पतालसहितको केन्द्र सञ्चालन नगर्दा करोडौँ मूल्यका उपकरण बिग्रने जोखिम पनि बढेको छ ।

कतै जनशक्ति र राख्ने ठाउँको अभावका कारण उपकरणहरु थन्किएका छन् भने कतै संचालनको अन्योलताले गर्दा उपकरणहरु चलाइएका छैनन् । जनशक्ति व्यवस्थापनका लागि माग गरिएपनि सरकारले यसमा ध्यान नदिँदा अरवौंको उपकरण रद्दीमा परिणत भइरहेका छन् । नागरिक भने उपचारका लागि धरान र विराटनगरका महँगा निजी अस्पताल धाउन बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *