पाल्पाको मिसन अस्पतालमा बीमामार्फत हुने उपचार सेवा बन्द (भिडियो रिपोर्टसहित)

२३ साउन २०८० पाल्पा । पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमामार्फत हुने उपचार सेवा बन्द गरेको छ ।
बीमा उपचार वापतको वक्यौता रकम सरकारले भुक्तानी नगरेका कारण अस्पताल नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै यो आर्थिक वर्षदेखि बीमा कार्यक्रम बन्द गरेको हो। यसले स्वास्थ्य बीमाबाट लाभान्वित हजारौं सेवाग्राही समस्यामा परेका छन् ।
गत वर्ष लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि विकल्पका रुपमा थियो, तानसेनस्थित युनाइटेड मिसन अस्पताल । पाल्पाकासँगै यहाँ गुल्मी, स्याङ्जा र रुपन्देहीबाट दैनिक सात सयदेखि एक हजार स्वास्थ्य बीमा गरेका नागरिक सेवा लिन आउँछन् । तर, भुक्तानी नपाएको भन्दै मिसन अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि हजारौं नागरिक समस्यामा परेका छन् ।
युनाटेड मिशन अस्पताल तानसेन पाल्पाले २०७४ साल देखि शुरु गरेको स्वास्थ्य बीमा उपचार सेवा साउन २१ गते देखि पूर्ण रुपमा बन्द गरेको छ । अस्पतालले जेठ मसान्त सम्मको १९ करोड रुपैयाँ बीमा बोर्डबाट भुक्तानी लिन बाँकी छ । बीमाको रकम नपाएका कारण अस्पताल नै बन्द हुने अवस्था आएकाले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।
मिशन अस्पतालले २०७४ सालदेखि हालसम्म स्वास्थ्य बीमा बोर्डको औषधि, उपकरण तथा सेवाको मूल्य पुनरावलोकन गर्नुपर्ने माग राखेको छ । बीमा बोर्डले १५ दिन भित्र दिनुपर्ने भुक्तानी रकम एक वर्षसम्म पनि भुक्तानी नगरेको र बिल लिने बेलामा पनि विभिन्न बहानामा रकम कटौती गरेको अस्पतालको आरोप छ ।
पाल्पा स्वास्थ्य बीमा गर्ने देशभरिकै नमुना जिल्ला पाल्पाका ८५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् । पाल्पामा २ वटा सरकारी अस्पताल र २ वटा प्राथमिक उपचार केन्द्रमा बीमा कार्यक्रम लागु गरिएको थियो । तर, दरबन्दी अनुसारका चिकित्सक, विषेशज्ञ सेवा, आवश्यक उपकरणको अभावका कारण सरकारी अस्पतालले मिसन अस्पताल रिफर गर्दै आएका थिए ।
अब मिसन अस्पतालले पनि सेवा बन्द गरेपछि नागरिक समस्यामा परेका छन् । सरकारी अस्पताललाई व्यस्थित, सुरक्षित र भरपर्दो उपचार केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ सेवा सुरु गरेपनि गुणस्तरमा सुधार गर्न नसकेकोमा नागरिकको गुनासो छ ।
प्रतिक्रिया