ठकुरी खोला किनारका ६२ घरपरिवारकाे प्रार्थना : वर्षा नहोस् ! (भिडियो रिपोर्टसहित)

२०८० साउन २२ गते १६:२२
ठकुरी खोला किनारका ६२ घरपरिवारकाे प्रार्थना : वर्षा नहोस् ! (भिडियो रिपोर्टसहित)

२२ साउन २०८० सुनसरी । पर्याप्त वर्षा नहुँदा तराईका धेरै स्थानका किसान चिन्तित छन् । तर, सुनसरीको धरान उपमहानगरपालिका १७ मा रहेको ठकुरी खोलाको किनारमा बसोबास गर्दै आएका ६२ घरपरिवार भने वर्षा नहोस् भनेर प्रार्थना गरिरहेका छन् । आकाशमा कालो बादल मडारियो भने रातभर जाग्राम बस्न बाध्य हुने उनीहरुको समस्या समाधानमा कसैले चासो देखाएको छैन ।

धरान उपमहानगरपालिका वडा नं १७ को ठकुरी खोला किनारामा रहेको डाँफे मार्गमा बसोबास गर्ने नागरिक भारी वर्षा नहोस् भनेर कामना गर्छन् । खोलाले यसअघि पुयाएको क्षतिका कारण उनीहरु अझै त्रशित छन् । वर्षाका बेला ठकुरी खोलाले धार परिवर्तन गरेर बस्ती पस्दा विगतमा धेरैको थातबास उठ्यो । त्यही सम्झोर उनीलाई निन्द्रा लाग्दैन ।

बर्षेनी बाढीले सताउन थालेपछि विभिन्न निकायमा धाए । तर, कतैबाट मागको सुनुवाई नभएपछि आफैं तटबन्ध बनाउन जुटे । नागरिकस्तरबाटै एक लाख रकम संकलन गरेर बनाएको तटबन्ध पनि बाढीले बगायो । अब भारी वर्षा भए बस्तीमा बाढी पस्ने निश्चित प्रायः छ । खोला नियन्त्रणका लागि नागरिकले ढुंगा संकलनसँगै जनश्रमदान पनि गर्दै आएका छन् । तर समस्याको समाधान भने भएको छैन ।

विगतमा ठकुरी खोला सानो खोल्सो भएको स्थानीयहरु बताउँछन् । तर बर्षेनी आएको बाढीले यसको आकार बढाउदै लगेको छ । धेरै जग्गाहरु कटान गरेको छ । कतिपयको जग्गा त अहिले बगरमा परिणत भइसक्यो । ठकुरी खोलामा पक्की पुल बनेको छ ।

यो पुलले धरान र चतरा जोडेको छ । पुल निर्माणले आवात जावतमा सहज भएपनि डाँफे टोलका बासिन्दाहरुले आनन्द महसुस कहिल्यै पाउन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *