Main News

रवि लामिछानेले सुरु गरेका योजनामा कसको प्रायोजन ? स्रोत के हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २१ गते २०:४२
रवि लामिछानेले सुरु गरेका योजनामा कसको प्रायोजन ? स्रोत के हो ? (भिडियो रिपोर्टसहित)

२१ साउन २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सुरु गरेको मेडिकल क्लिनिक विवादमा परेको छ । साथै उहाँले चलाएको ब्लु बस तथा पार्टी कामका लागि महंगो तलबमा सीईओ नियुक्त गर्ने आर्थिक स्रोत के हो भन्ने प्रश्नहरु पनि थपिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साउन १६ गते सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू निर्वाचित भएको दिन साउन १७ गतेलाई विशेष गराउने उद्घोष गर्नुभयो । लामिछानेकै शब्दमा निर्वाचनको समयमा बोलेका थुप्रै काम अथवा स्टन्टलाई कार्यान्वयनमा ल्याउन लागिएको थियो ।

उहाँको पोष्टमा आफू निर्वाचित भएको दिनलाई विशेष गराउने बाहेक एक सय जनाभन्दा बढी विदेशमा रहेका नेपालीलाई स्वदेशमा रोजगारीको व्यवस्था गरिएको भन्दै केही विज्ञापनसमेत समावेश थिए । ‘नेपालमा रोजगारीको अवसर’ भन्दै प्रकाशित भएको भनिएका विज्ञापनमा मार्केटिङ तथा सञ्चार, प्रविधि, वित्त तथा लेखा, खाद्य तथा पेय, व्यवस्थापन तथा प्रशासन, स्वास्थ्य लगायतका क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिएको उल्लेख थियो । यी विज्ञापनमा आमरुपमा केही जिज्ञासा व्यक्त भए ।

उप निर्वाचनबाट निर्वाचित भएको १०० दिनको अवसर पारेर साउन १८ गते लामिछानेले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै चितवनमा महिलाहरुका लागि ब्लु बस र जेष्ठ नागरिकका लागि मोबाइल क्लिनिक सुरु गर्नुभयो । एउटा राजनीतिक दलले कुनै आर्थिक स्रोत वा दानबारे स्पष्ट नपारी यी सेवा कसरी सुरु गर्न सक्छ रु भन्ने स्वभाविक जिज्ञासा उठिहाल्यो । यी प्रश्नहरु राजनीतिक प्रतिशोष, प्रवृत्ति वा स्वभाविक जिज्ञासाका रुपमा व्यक्त भए ।

यो बीचमै रास्वपाले मोबाइल क्लिनिकका रुपमा चलाएको गाडी भारत सरकारले ११ वर्षअघि पुरानो मेडिकल कलेज भरतपुरलाई उपलब्ध गराएको र लामो समय नवीकरण नगरेकाले पत्रु बन्नु पर्ने अवस्थाको एम्बुलेन्स रहेको खुल्यो । त्यतिमात्र होइन अनधिकृत रुपमा गाडीको रंग फेरेर निलो बनाइएको आरोपसमेत लागेपछि पुरानो मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता लिएको छ ।

यही मेसोमा लामिछानेले आफूले समय दिन नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो काम गर्ने गरी हेमन्त बराललाई सीईओ नियुक्त गर्नुभएको छ । बरालले बेलायतको क्यामब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरेर आएको भन्दै रास्वपाले अनअफिसियल प्रचारसमेत गर्यो । तर बराल बेलायतको राम्रो जागिर छोडेको र क्यामब्रिज अध्ययन गरेको कुरा पनि अफवाह रहेको भन्दै टिप्पणी भइरहेको छ ।

मुलरुपमा साउन १६ गते लामिछानेले आफूले स्टन्ट गर्न लागेको भन्दै सामाजिक सञ्जालमा गरेको पोष्टमा धेरैको ध्यान जानु स्वभाविक हो । उदीयमान पार्टी र नेताका रुपमा रास्वपा र सभापति लामिछानेका गतिविधिलाई आलोचनात्मक दृष्टिकोणबाट नियाल्नु झनै स्वभाविक हो ।

उहाँले सुरु गरेको मोबाइल क्लिनिक, ब्लु बस र एक लाख रुपैयाँ तलब खाने सीईओको नियुक्तिबारे भएका टिप्पणीमाथि जवाफ फर्काउँदै लामिछानेले आइतबार पुनः सामाजिक सञ्जालमा हेडलाइन आतंक भएको दुःखेसो गर्नुभएको छ । आक्रोशपूर्ण दुखेसोपछि पनि उहाँका पोष्टहरुमा प्रतिक्रिया दिनेहरुले उहाँले सुरु गरेका कामको पारदर्शिता पर्खिरहेका छन् । सँगै, बचाउ गर्नेहरुले टिप्पणी गर्नेहरुमाथि तुच्छ प्रतिकार ।

यद्यपि प्रश्न रोकिएका छैनन्, दान र चन्दाबाट चल्ने पार्टीले यी ठूलै खर्च हुने परियोजना कसरी चलाउँदैछ, सभापति लामिछानेको क्षेत्रबाट अन्य क्षेत्रमा पनि जानुपर्ने होला । तीनको स्रोत के हो ? कहाँको पैसा हो ? के राम्रै उद्देश्यका लागि सुरु गरिने परियोजनामा पारदर्शिता आवश्यक नपर्ने हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *