Main News

एकीकृत समाजवादीभित्र बढ्दो असन्तुष्टी, झलनाथ खनालको गम्भीर आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २१ गते २०:३०
एकीकृत समाजवादीभित्र बढ्दो असन्तुष्टी, झलनाथ खनालको गम्भीर आरोप (भिडियो रिपोर्टसहित)

२१ साउन २०८० काठमाडौं । एकीकृत समाजवादीबाट नेता र कार्यकर्ता धमाधम बाहिरिएपछि सम्मानित नेता झलनाथ खनालले ११ बुँदामा समस्या औंल्याउनुभएको छ ।

शनिबारबाट सुरु पार्टी स्थायी कमिटी बैठकमा खनालले पेश गरेको ‘वर्तमान परिस्थितिमा ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु’ शीर्षकको दस्तावेजमा खनालले नेतृत्वका कारण पार्टीमा क्षयिकरण भएको टिप्पणी समेत गर्नुभएको छ ।

मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि नेकपा एकीकृत समाजवादीभित्र नेता कार्यकर्ताको असन्तुष्टि छ । पार्टी संसदमा राष्ट्रिय दल बन्न नसक्नु, गठबन्धनबाटै पूर्ण सहयोग नमिल्दा पनि उसमै भर पर्नु जस्ता कारणले पार्टीका नेतारकार्यकर्ता एमालेतिरै मोडिए । एमालेतिर फर्कन खोज्ने अग्रपंक्तिमा हुनुहुन्थ्यो ( झलनाथ खनाल । सार्वजनिक रूपमा खुलेर यसबारेमा कुनै जानकारी नदिएपनि अध्यक्ष माधव नेपालप्रति उहाँको गुनासै गुनासो छ । यही गुनासोको पोकोलाई आइतबार नेता खनालले स्थायी कमिटीको बैठकमा पोख्नुभयो ।

झलनाथ खनालले औंल्याएका एकीकृत समाजवादीका ११ समस्याः
१. पार्टी पंक्तिमा रहेको उत्साह र उमंगमा कमी
२. विद्रोह गर्दाका सबै नेता घट्दै गए
३. पार्टी दिशाहीन हुँदै गयो
४. विद्रोह गर्दाको जस्तो राष्ट्रिय पार्टी अहिले नभएको
५. विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिदै गयो
६. नेता कार्यकर्ताले देख्ने गरी विचार र सिद्धान्त नबन्नु
७. उपचुनावमा उम्मेदवार समेत नउठाएर पार्टी निरिह भयो
८. सांगठनिक संरचना कमजोर बनेको
९. कार्यकर्ताहरुमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृति विकसित भएको
१०. संसदमा प्रभावकारी र क्रान्तिकारी ढङ्गले संसदीय संघर्ष नभएको
११. चुनाव वर्गसंघर्षकै अभियान भएपनि चुनावलाई वर्गसंघर्षको रुपमा नदेख्नु

नेता खनालको १६ पन्ने दृष्टिकोणमा पदाधिकारी तह रावणको टाउकाजस्तो र तल झीनो हुँदै गएको टिप्पणी गर्नुभएको छ । पार्टीले प्रधानशत्रुको तुरुन्तै किटान गर्नुपर्ने उहाँको माग छ । खनालले दक्षिणपन्थी शक्ति–नेपाली कांग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तरविरोध प्रधान राजनीतिक अन्तरविरोध भएको टिप्पणी समेत गर्नुभएको छ । पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने खनालको माग छ । वैचारिक रुपमा स्पष्ट भए मात्रै पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको सञ्चार हुने उहाँको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *