पर्सामा जबरजस्ती करणीका घटना बढे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २१ गते १६:५९
पर्सामा जबरजस्ती करणीका घटना बढे (भिडियो रिपोर्टसहित)

२१ साउन २०८० पर्सा । पर्सामा जबरजस्ती करणीका घटना बढेका छन् । पर्सा जिल्ला प्रहरीमा दर्ता भएका गम्भीर अपराधका घटामा ७० प्रतिशत मुद्दा त जबरजस्ती करणीसम्बन्धिका मात्रै छन् । बाल यौनदुर्व्यवहारका उजुरी पनि उत्तिकै परेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पर्सा जिल्लामा आर्थिक वर्ष २०७९–८० मा बलात्कार, कर्तव्य ज्यान जस्ता अपराधमा ७८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ५४ वटा मुद्दा बलात्कारसम्बन्धी छन् ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारका ४९ र बलात्कारको प्रयासका ५ वटा गरि ५४ वटा मुद्दा दर्ता भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने पर्सा प्रहरीमा बलात्कारका ३४ र बलात्कारको प्रयासका १३ वटा गरि ४७ वटा मात्र मुद्दा दर्ता भएको थियो ।

गाउँघरमा पछिल्लो समय विवाहको उमेर नपुगेका किशोरी आफ्नो प्रेमीसंग भागेपछि किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जबरजस्ती करणीको मुद्दा दर्ता गराउने गरेका कारण संख्या बढेको प्रहरीले जनाएको छ । यसका साथै लिभिङ टुगेदरमा रहेका प्रेमी(प्रेमिकाबीच सम्बन्ध बिग्रिएपछि पनि जबरजस्ती करणी मुद्दा दर्ता गर्ने गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा जबरजस्ती करणी, जबरजजस्ती करणी उद्योग, कर्तब्य ज्यान, बाल यौन दुर्व्यवहार, मानव बेचबिखन गरी गम्भीर अपराध सम्बन्धी ६६ वटा मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७९–८० मा भने उक्त अपराधको संख्या बढेर ७८ पुगेको छ । आर्थिक वर्ष २०७८–७९ मा कर्तव्य ज्यान मुद्दामा पनि ११ वटा उजुरी दर्ता भएको थियो भने गत आर्थिक वर्षमा १७ वटा मुद्दा दर्ता भयो ।

यसैगरी पर्सा प्रहरीमा गत आर्थिक वर्षमा बाल यौन दुर्व्यवहार ४ र मानव बेचबिखनका पनि ४ वटा मुद्दा दर्ता भएका छन् । यसका साथै पछिल्लो समय प्रहरी प्रति बढ्दै गएको जनविश्वास र प्रहरी कहाँ पुगे न्याय पाइन्छ भन्ने नागरिकमा चेतना बढ्दै गएका कारणले पनि बलात्कार सम्बन्धी मुद्दा दर्ताको संख्यामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *