मुगुमा चामल अभाव (भिडियो रिपोर्टसहित)
२१ साउन २०८० मुगु । कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामलको अभाव छ । मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल वितरणमा रोक लगाएको छ ।
कम्पनीले एक सातादेखि चामल वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्तो हात फर्किन बाध्य छन् ।
कर्णालीका जिल्लामा चामल र नुनको सँधै पिरलो हुन्छ । भौगौलिक विकटताका कारण खाद्यान्न उत्पादनमा कमी हुने भएकाले यो समस्या वर्षेनी दोहोरिने गर्छ ।
खाद्यान्न पर्याप्त नभएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले साउन ११ गतेबाट चामल विक्री वितरणमा रोक लगाएको छ । जस्ले सस्तो मुल्यमा खाद्यन्न लिन पुग्ने मुगुका नागरिक रित्तो हात फर्कन बाध्य छन् ।
मुगुमा आर्थिक बर्ष २०७९–८० को स्वीकृत कोटा जिल्लाभरी २६ हजार ९ सय ५० क्वीन्टल थियो । तर समयमा ढुवानीको ठेक्का लाग्न नसक्दा कोटा अनुसारको चामल मुगुमा पुगेन ।
अहिले गोदाममा ६ सय ८० क्वीन्टल मात्र खाद्यान्न मौजदात छ । बर्षातका बेला भैपरि आउने विपद् व्यवस्थापनका लागि मौज्दात राखेर संस्थानले विक्री वितरण बन्द गरेको हो ।
भारतले खाद्यान्न निर्यातमा रोक लगाएको हुँदा विपत परेका बेला आवश्यक खाद्यान्न जोहोका लागि बिक्रि बन्द गर्नु परेको स्थानीय प्रशासनको भनाइ छ ।
सस्तो मुल्यमा खाद्यान्न विक्री वितरण गर्दा मुगुवासीलाई सहज भएको थियो । तर, पर्याप्त मात्रामा चामल नहुँदा भोकमरी हुने हो कि भन्ने चिन्ता मुगुबासीलाई छ ।
प्रतिक्रिया