विद्यालय : न ओत लाग्ने ठाउँ, न खुट्टा टेक्ने ठाउँ (भिडियो रिपोर्टसहित)

२०८० साउन २० गते १७:५३
विद्यालय : न ओत लाग्ने ठाउँ, न खुट्टा टेक्ने ठाउँ (भिडियो रिपोर्टसहित)

२० साउन २०८० कञ्चनपुर । स्थानीय सरकारको बेवास्ताले कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको शान्ति आधारभूत विद्यालयका विद्यार्थी मर्कामा परेका छन् ।

नदी किनारको विद्यालय यसै पनि बाढीको जोखिममा छ भने छानोसमेत हुरीले उडाएपछि ओत लाग्ने ठाउँ छैन । सरकारको चरम बेवास्ता भएपछि स्थानीय आफै श्रमदानमा जुटेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालय । गत महिना आएको हावाहुरीले जस्तापाताको छानो उडाइदियो । छानो नै नभएपछि कक्षा कोठा असुरक्षित छन् । समस्या छानोको मात्र होइन, सँगै बग्ने नदीको पनि छ । वर्खामा बाढी कक्षाकोठासम्म पुग्छ ।

कोरोना महामारीको समयमा सुरु भएको विद्यालयको पक्की भवन निर्माण कार्य अझै सकिएको छैन । नयाँ भवन नबनेको अवस्थामा विद्यालयले स्थानीय पालिकासहित विभिन्न निकायलाई जस्तापाताका लागि गुहार माग्यो । तर, कसैले सुनेनन् ।

विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थी अहिले निर्माणाधिन भवनमै बसेर पठनपाठन गर्न बाध्य छन् । यहाँ न ढोका छ, न झ्याल । बर्षाको पानी कक्षाकोठाभित्रै पस्छ । किताव कापी भिजाउँछ । विद्यार्थीको बिजोग भएपछि अहिले स्थानीयहरु श्रमदानबाटै विद्यालयको छानो निर्माण गर्न जुटिरहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै रहेको यो विद्यालयमा वन्यजन्तु समेत आउने गरेका छन् । वन्यजन्तुबाट समेत खतरा भएका कारण पर्खाल लगाइ दिन अभिभावकको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *