धरानको पानीमा फिकल कोलिफर्म (भिडियो रिपोर्टसहित)
१९ साउन २०८० धरान । धरानबासीलाई पानी खुवाउने मुख्य एजेण्डाले नै हर्क साम्पाङ राईले धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भए । श्रमदानबाटै पानी ल्याउने उद्घोष गर्दै मुहान पसेका राईको प्रयास अझै जारी छ । तर धरानमा ल्याइएको पानीमा फिकल कोलिफर्म भेटिएको छ ।
धरान उपमहानगरपालिकाका सुमन श्रेष्ठले अत्यधिक ज्वरोसँगै पाखाला लागेपछि आफ्नै खर्चमा विभिन्न सात ठाउँको पानी परीक्षण गराउनुभयो । परीक्षण गर्दा पानीमा फिकल कोलिफर्मको मात्रा पाँच देखि ३५ सम्म भेटियो ।
धरान आपसपासका भालु खोला, पकुवा खोला, सर्दूखोला, कोकाहा खोला लगायतका खोलाबाट ल्याइएको पानी परीक्षण बिना ट्यांङ्कीमा हालिएको थियो । धरान उपमहानगरपालिका प्रमुख हर्कराज सम्पाङ राईको पहल र श्रमदानमा ल्याइएको पानी नगरबासीले उपभोग गरेको पानीमा फिकल कोलिफर्म भेटिएको हो ।
निस र जनावरको दिसापिसावमा पाइने जीवाणुको समूह हो, फिकल कोलिफर्म, जुन मानिसको स्वास्थ्यका लागि हानिकारक छ । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा हुनुहुँदैन । तर, धरानबासीले पिउने पानीमा यसको मात्रा पाँचदेखि ३५ युनिटसम्म पाइएको छ । यसले झाडापखाला, ज्वरो आउने, वान्ता हुने, पाचनप्रणालीसम्बन्धी रोग निम्त्याउँछ ।
धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नम्बर १७ र ११ को सीमा क्षेमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्यांकीमा दुईवटा स्रोतको पानी मिसाइएको छ । बोरिङ गरेर निकालिएको पानीमा भने कोलिफर्म देखिएको छैन । कोका खोलाबाट ल्याइएको पानीमा कोलिफर्मको मात्रा ५ पाइएको छ भने सर्दु खोलामा रहेको रिजर्भेसन ट्यांकीको पानीमा कोलिफर्मको मात्रा १० पाइएको छ ।
सर्दु खोलाको पानीमा १५, निसाने खोलाबाट ल्याइएको पानीमा २०, धरान–१३ को फुस्रोमा रहेको ट्यांकीको पानीमा ३० र विजयपुरस्थित ट्यांकीबाट धरान–३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट पाइएको छ । तर धरानका नगरप्रमुख राईले सामाजिक सञ्जालमा पानी परीक्षणप्रति अविश्वास गर्नुभयो ।
पानी परीक्षणमा अविश्वास गरे पनि प्रमुख राईले वर्षाका बेला पानी प्रदुषित हुने भएकाले शुद्धीकरण गरेर प्रयोग गर्न नागरिकलाई आग्रह गर्नुभयो ।
कोलिफर्मयुक्त पानी वा खाद्यपदार्थको सेवनले झाडापखाला लागेर महामारी फैलन सक्छ । यसर्थ १–२ मिनेटसम्म उमाले वा क्लोरिनजस्ता रासायनिक झोल हाले पानीमा भएका हानिकारक जीवाणु नष्ट हुन्छन् । पानी राख्ने भाँडा पनि सफा र जीवाणुरहित बनाउने जस्ता स्वास्थ्य सावधानी अपनाएर दूषित पानीबाट हुने संक्रमण रोक्न सकिन्छ ।
प्रतिक्रिया