कांग्रेस केन्द्रीय समिति बैठकमा शेखर कोइरालाको असन्तुष्टि (भिडियो रिपोर्टसहित)
७ साउन २०८० काठमाडौं । रामचन्द्र पौडेल सक्रिय राजनीति हुँदै राष्ट्रपति बनेपछि अहिले नेपाली कांग्रेसभित्र पौडेल झैँ संस्थापन इतर बनेर कार्यकर्ता रिझाउने पात्र हुन् – शेखर कोइराला ।
आफू निकट नेतालाई मन्त्रीदेखि विभिन्न पदमा भागवण्डा मिलेपछि केही समयदेखि कोइाराला सभापति शेरबहादुर देउवाप्रति बढी सकरात्मक देखिन थालेका छन् । तर, मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा भने कोइाराला फरक रूपमा प्रस्तुत हुनुभयो । लोकरिझ्याइँका लागि बैठक लाइभ गरेको देखि बैठक नै विषयान्तर भएकोप्रति उहाँको असन्तुष्टि थियो ।
एक वर्षपछि गत मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा नेतृत्वप्रति असन्तुष्टि पोख्ने क्रम चलिरहेको छ । पार्टी सुदृढिकरणका लागि भन्दै महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव र अन्य राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।
पहिलोपटक लाइभ गरिएको बैठकमा धारणा राखिरहेका अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको बचाउ र महामन्त्री थापा र विश्वप्रकाश शर्माको आलोचना गरिरहेका छन् । यो बैठकले थापालाई पार्टीभित्र आफ्नो अवस्था र केन्द्रीय समितिमा आफ्ना पक्षका नेता कति छन् भन्ने तौलन मद्दत गरिरहेको छ ।
प्रत्यक्षा प्रसारण भएकाले पनि अधिकांश सदस्यले सभापतिको बचाउ गरिरहेका छन् । तर, यही बैठकमा आइतबार शेखर कोइराला भने फरक ढंगमा प्रस्तुत हुनुभयो । बैठक लोकरिझ्याइँका लागि लाइभ गरेकोमा आपत्ति जनाउँदै कोइरालाले बैठकको समग्र एजेन्डामा धारणा राख्दै सुझाव प्रस्तुत गर्नुभयो ।
नेपाली कांग्रेस नेता शेखर कोइारालको सुझाव
१. केन्द्रीय समितिको बैठक लोकरिझ्याइँका लागि लाइभ गरेको भएपनि लाइभ गर्ने र नगर्ने बैठकको कार्यतालिका बनाउनुपर्ने
२. संघीयतामाथि प्रश्न उठेको भन्ने केन्द्रीय सदस्यको तर्कलाई महामन्त्रीकै सांगठनिक कार्यतालिकाले उत्तर दिएको
३. प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै आगामी निर्वाचन एक्लै लड्नुपर्ने र गठबन्धनमा कांग्रेस रहनुको औचित्य पुष्टि गर्नुपर्ने
४. समाजवादी मोर्चा बनाउँदा गठबन्धनमै हुनुको अर्थ र भ्रष्टाचारीलाई संरक्षण गर्नुको कारणबारे जवाफ माग
५. बैठकलाई विधानसम्मत र कार्यविभाजन गरेर चलाए आरोप(प्रत्यारोप स्वतः बन्द हुने
६. अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउन माग
गुटगत राजनीति चलाउने मध्येका एक कोइारालाले केन्द्रीय समितिको बैठकमै गुटलाई त्याग्ने, आरोप–प्रत्यारोप बन्द गर्नुपर्ने सुझाव दिनुलाई कतै बैठक प्रत्यक्ष प्रसारण गरेकाले त होइन भनेर प्रश्न गरिरहेका छन् । हुन पनि एक वर्षपछि बसेको बैठकमा विभिन्न आक्रोश र आलोचना हुन्छ भनेर नै सभापति देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्षप्रसारण गर्ने निधो गर्नुभएको थियो । पछिल्ला चार दिनमा केन्द्रीय सदस्यले राखेको धारणाले पनि यही कुरालाई पुष्टि गर्छ ।
प्रतिक्रिया