गमगाड साना जलविद्युत आयोजनामा समस्या, विद्युत आपूर्ति ठप्प (भिडियो रिपोर्टसहित)

२०८० साउन ६ गते १६:१२
गमगाड साना जलविद्युत आयोजनामा समस्या, विद्युत आपूर्ति ठप्प (भिडियो रिपोर्टसहित)

६ साउन २०८० मुगु । मुगुको गमगाड साना जलविद्युत आयोजनाको विद्युत गृहमा समस्या आएपछि दुई सातादेखि मुगुको सदरमुकाम गमगढीमा विद्युत आपूर्ति ठप्प छ ।

जिल्लाका करीब १० हजार घरधुरीलाई लक्षित गरि निर्माण गरिएको जलविद्युत आयोजना पटक–पटक बिग्रिँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । विद्युत नहुँदा सरकारी, गैह्रसरकारी तथा वित्तीय संस्थाको दैनिक कामकाजमा समेत प्रभाव परेको छ ।

मुगुमा करिब दुई सातादेखि विद्युत सेवा अवरुद्ध छ । गमगढी लगायत आसपासका गाउँबस्ती अन्धकारमा छन् । हरेक वर्ष वर्षाको समयमा गमगाड विद्युत वितरण केन्द्रको मुहान पावर हाउसमा पटक पटक समस्या आउँदा यो समस्या निम्तिने गरेको छ ।

समस्या समाधानका लागि काम गरेपनि प्रभावकारी भने हुन सकेको छैन । विद्युतका लागि दीर्घकालीन विकास नहुँदा विद्युत सेवाबाट नागरिकले हरेक वर्ष सास्ती खेप्नुपरेको छ ।

२०६८ सालमा स्थापाना भएकोे गमगाड विद्युत आयोजनामा आउने समस्याका कारण ३ हजार १ सय ग्राहक प्रत्यक्ष मारमा पर्ने गरेका छन् । विद्युत नहुँदा सरकारी कार्यालय र वित्तीय क्षेत्र बढी प्रभावित हुने गरेका छन् ।

अहिले वर्षाका कारण विद्युत गृहको मुहानमा बालुवासहितको लेदो आउँदा नहर बन्द भई विद्युत उत्पादनमा अवरोध भएको हो । पटकपटक बालुवा हटाउन प्रयास गरेपनि सम्भव भएको छैन । बर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि बर्षाको समयमा भल आउने लेदो र बालुवाका कारण विद्युत उत्पादनमा समस्या हुने गरेको छ ।

विद्युत गृहमा पटकपटक आउने अवरोध हटाउन गमगाड विद्युत आयोजनाको दीर्घकालीन समस्या समधानका लागि कतैबाट पहल भएको छैन । कुल ४ सय किलोवाट विद्युत आयोजना जडित मोटरमा यसअघि समस्या आयो । अहिले लेदो जमेर विद्युत अवरुद्ध हुने जस्ता समस्या अन्त्य गर्न राष्ट्रिय विद्युत प्राधिरकणले चासो नदिँदा मुगुमा यो समस्या नभई नियति बन्न पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *