Main News

कहाँ जान्छ बरामद सुन ? (भिडियो रिपोर्टसहित)

२०८० साउन ५ गते २०:२९
कहाँ जान्छ बरामद सुन ? (भिडियो रिपोर्टसहित)

५ साउन २०८० काठमाडौं । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएको झण्डै एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो ।

सुन तस्करीमा संलग्न भएको आशंकामा विभागले १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ । आरोपितलाई कानुन अनुसार कारबाही हुन्छ भने बरामद भएको सुन के हुन्छ त भन्ने आम चासो छ ।

राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिसकेको झण्डै एक सय किलो सुन सिनामंगलबाट बरामद गर्‍यो । विशेष सुचनाका आधारमा बरामद गरिएको सुन तत्काल राष्ट्र बैंकको टक्सार विभागमा वास्तविक तौल लिन पठाइयो ।

विभागले पत्र लेखेपछि सुनको गुणस्तर परीक्षण र तौल लिने प्रक्रिया सुरु भएको छ । मोटरसाइकलको ब्रेक शू बनाएर ल्याइएको सुनको सम्पूर्ण परीक्षण र वास्तविक तौल निकाल्न केही दिन लाग्नेछ ।

यो सुन राष्ट्रबैंककै ढुकुटीमा रहनेछ भने विभागले थप अनुसन्धान पनि सँगै अघि बढाउँछ । अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयको राय लिएर विभागले अदालतमा मुद्दा दायर गर्छ ।

अदालतले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को व्यवस्थाअनुसार संलग्नमाथि कारबाहीको फैसला सुनाएपछि वा मुद्दाको किनारा लागेपछि सुन राष्ट्रबैंकले राख्छ भने सुन बरामद गर्दाको दिनको सुनको बजार भाउ अनुसार राजस्व अनुसन्धान विभागलाई रकम उपलब्ध गराउँछ । यस मुद्दामा दोषी प्रमाणित भएका आरोपीले पनि तिर्ने जरिवाना पनि विभागकै खातामा जम्मा हुन्छ । विभागको खातामा जम्मा हुने रकम सरकारको हुन्छ ।

राजस्व विभागले मात्रै नभएर अन्य निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो लगायतका निकायले पनि समय समयमा अवैध सुन बरामद तथा संलग्नलाई पक्राउ गर्दै आएका छन् । उनीहरुबाट बरामद भएको सुन पनि सुरुमा राजस्व अनुसन्धान विभागमा दाखिला हुन्छ र माथिकै प्रक्रिया गरिन्छ ।

आवश्यकताअनुसार प्रयोग तथा बिक्री गर्छ । राष्ट्र बैंकले छापावाल तथा उच्च गुणस्तरयुक्त सुन असर्फी बनाउन प्रयोग गर्ने तथा बजारमा कोटा प्रणालीअनुसार बिक्री गर्ने गर्छ भने निम्न गुणस्तरको सुना मेडलहरु निर्माण तथा अन्य प्रयोजनमा लगाउने वा बिक्री गर्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *