Main News

अस्पतालमा नर्स अभाव, नर्सिङ कलेजमा विद्यार्थी अभाव (भिडियो रिपोर्टसहित)

२०८० साउन ३ गते २०:५०
अस्पतालमा नर्स अभाव, नर्सिङ कलेजमा विद्यार्थी अभाव (भिडियो रिपोर्टसहित)

३ साउन २०८० काठमाडौं । विश्वव्यापीरुपमै नर्सिङ जनशक्तिको माग बढ्दो छ। तर, नेपालमा भने नर्सिङ अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै छ । वितेको तीन वर्षयता नर्स उत्पादन नै ५० प्रतिशतले घटेको छ ।

२०७७ मा चिकित्सा शिक्षा नियमावली जारी भएपछि विद्यार्थी घटेका हुन्। चिकित्सा शिक्षा ऐन र नियमावलीले नर्सिङ कलेज सञ्चालनका लागि अस्पताल चलाउनुपर्ने व्यवस्था गरेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन बन्नु अघि देशमा १०८ वटा पीसीएल नर्सिङ कलेज सञ्चालनमा थिए । जसबाट ४ हजार भन्दाबढी नर्स उत्पादन हुन्थे तर अहिले भने एक शैक्षिक सत्र १५ सयको हाराहारीमा मात्रै नर्स उत्पादन हुन्छन् ।

अभियन्ता चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन र सत्याग्रह गरेसँगै सरकारले केसीको माग सम्बोधन हुने गरी ऐन ल्यायो । र चिकित्सा शिक्षा नियमावली २०७७ कार्यान्वयन हुँदा नर्सिङ कलेज भने धमाधम बन्द भइरहेका छन् ।

तथ्यांकमा हेरौं राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ आएसँगै प्रदेशगतरुपमा बन्द भएका कलेजको संख्या ।

कोशी प्रदेश– ४
मधेश प्रदेश– ६
बागमती प्रदेश– ३२
गण्डकी प्रदेश– ४
लुम्बिनी प्रदेश– १७
कर्णाली प्रदेश– १
सुदुरपश्चिम प्रदेश– ६
बन्द भएका कुल नर्सिङ कलेज– ७०

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १२ मा भएको व्यवस्थाका कारण नर्सिङ कलेजहरु धमाधम बन्द हुने अवस्था आएको गुनासो नर्सिङ कलेज सञ्चालकहरुको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १२ के छ ?
ऐनको दफा १२ को १ को क मा विद्यार्थीको पढाई र अभ्यासका लागि मेडिकलतर्फ कम्तिमा तीन सय तथा डेण्टल र नर्सिङतर्फ एक सय शय्याको अस्पताल सञ्चालन नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाईने उल्लेख छ ।
ऐनको दफा ४४ मा यो ऐन प्रारम्भ हुनुभन्दा अघि आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको दुई वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्ड बमोजिम अस्पताल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था छ । त्यो मापदण्ड पुरा गर्न नसक्दा नर्सिङ कलेज धमाधम बन्द भएका हुन् । ऐनका कारण नर्सिङ कलेज बन्द भएपनि जनशक्तिको गुणस्तर अभिबृद्धि गर्न सहयोग पुग्छ । तर जनशक्ति बढाउन सरकारले योजना बनाइहाल्नुपर्ने चिकित्सा शिक्षा आयोगका सदस्य डाक्टर पदम खड्काको तर्क छ ।

स्वास्थ्य जनशक्तिको अभाव अझै पनि खड्किरहेको छ । यस्तो अवस्थामा उत्पादनलाई जोड नदिदाँ आफै पछुताउनुपर्ने अवस्था सृजना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *