हाजिर हुन नपाएपछि धनगढी उपमहानगरका स्वास्थ्यकर्मी धर्नामा (भिडियो रिपोर्टसहित)

२०८० साउन ३ गते २०:४४
हाजिर हुन नपाएपछि धनगढी उपमहानगरका स्वास्थ्यकर्मी धर्नामा (भिडियो रिपोर्टसहित)

३ साउन २०८० धनगढी । धनगढी उपमहानगरपालिकाले हाजिर गर्न नदिएपछि समायोजन मिलान भएका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

उपमहानगरले आफूमाथि अन्याय गरेको भन्दै स्वास्थ्यकर्मी धर्नामा बसेका हुन्। अधिकांश केन्द्रमा स्वास्थ्यकर्मी अभाव हुँदा पनि उपमहानगरले हाजिर गर्न नदिएको उनीहरुको आरोप छ ।

धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि समायोजन मिलान भएका स्वास्थ्यकर्मीहरुलाई हाजिर हुन नदिएपछि कर्मचारी अहिले धर्नामा छन् । समायोजनका लागि सहमति दिएको उपमहानगरले हाजिर हुन नदिएको उनीहरुको आरोप छ ।

२०७७ सालमा समायोजन मिलानका लागि सहमति दिएको महानगरपालिकाले अहिले भार बढेको भन्दै दरबन्दी बाहेकका कर्मचारलाई हाजिर हुनबाट रोकेको छ । गत आर्थिक वर्षमा पारिश्रमिक पाउँ भनेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी अहिले हाजीर नै हुन नपाएपछि आक्रोशित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालमा हाजिर भएर काम गरिरहेका कर्मचारीलाई अहिले हाजिर गर्न नदिइएको हो ।

उपमहानगरपालिकाका १९ वटै वडामा आधारभूत स्वास्थ्य चौकी छन् । केही स्वास्थ्य संस्थामा स्थायी दरबन्दीका स्वास्थ्यकर्मी समेत छैनन् । अधिकांश स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको अभाव छ । एक स्वास्थ्य चौकीमा पाँच जना स्वास्थ्यकर्मी हुनुपर्नेमा अहिले एक–दुई जनाको भरमा चलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *