खेलकूद

एसीसी इमर्जिङ टिम्स एसिया कप : युएईले नेपाललाई दियो १५८ रनको लक्ष्य

हिमालय टिभी
२०८० साउन ३ गते १३:३८
एसीसी इमर्जिङ टिम्स एसिया कप : युएईले नेपाललाई दियो १५८ रनको लक्ष्य

३ साउन २०८० काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एशिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा युएईको ए ले नेपाल सामू १ सय ५८ रनको सामान्य विजयी लक्ष्य पेश गरेको छ ।

पि सारा ओभल कोलोम्बोमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ए ले ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनमात्र बनायो । युवा खेलाडी समेटेर बनाईएको युएई ए टिमले राम्रो सुरुवात गरेपनि त्यसलाई कायम राख्न सकेन ।

पावर प्लेमा विकेट विहिन बनेको नेपालका लागि ११ औं ओभरमा ओपनर अर्यान्स शर्मालाई कुशल मल्लले १४ रनमा आउट गरे । अर्का ओपनर लवप्रित सिंहले सर्वाधिक ५२ रन बनाउँदा ईथान डिसुजाले १८ रन बनाए । तेस्रो विकेटका लागि लवप्रित र ईथानले गरेको ४४ रनको साझेदारी स्पिनर कुशल भुर्तेलले तोडे ।

९६ रन बनाउँदा तेस्रो विकेट गुमाएको युएई ए ले आठौं विकेट गुमाउँदा खातामा १ सय ३६ रन मात्र जोड्यो । आठौं सफलता पाउँदासम्म कुशल भुर्तेलले ९ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिईसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अहिलेसम्मकै सर्वाधिक विकेट लिएका हुन् । त्यस्तै मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १९१ विकेट लिए ।

आजको खेलमा नेपालले सुरुवाती ११ मा ४ खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई बेन्चमा राखेर प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई मौका दिइएको छ ।

सुरुवाती दुवै खेल हारेका यि दुई दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हो । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटको फराकिलो अन्तरले हारेको थियो ।

नेपाल रहेको समुह बी बाट भारत र पाकिस्तानको ए टिम तथा समुह ए बाट श्रीलंका र बंगलादेश ए टिमले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्