राजतन्त्रको मुद्दा बोकेको राप्रपा कस्तो राजा भन्ने अलमलमै (भिडियो रिपोर्टसहित)
१ साउन २०८० काठमाडौं । पछिल्लो आम निर्वाचनबाट पाँचौ शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजसंस्था’ र ‘हिन्दूराष्ट्र’ आफ्नो मुल मुद्दा बनाएको छ। तर, राप्रपा आफूले चाहेको राजसंस्थाको भूमिकाबारे धेरै प्रष्ट छैन।
राप्रपाका कतिपय नेताले धार्मिक तथा सांस्कृतिक राजा भनिरहेका छन् त केहीले सक्रिय । दुईसय चालीस वर्षीय राजतन्त्रका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्र शाह स्वयम् राजतन्त्र फर्काउन खुलेर मैदानमा नआउँदा राप्रपा चाहिँ ‘ताप्केभन्दा अगाडि बींड तातेजसरी’ उफ्रिरहेको छ।
यो केही दिन अघि राप्रपाका सांसद दीपकबहादुर सिंहले प्रतिनिधसभाको बैठकमा दिनुभएको अभिव्यक्ति हो । सिंहको यो बोलीलाई नै राप्रपाको आधिकारिक धारणा मान्ने हो भने राप्रपा राजा ल्याउन यो पटक बढी हतारिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको उमेर ढल्किदै गएकाले पनि राप्रपाको हतारो देखिन्छ तर जनमत राजसंस्थाको पक्षमा देखिइसकेको छैन ।
राप्रपाले जनतालाई कस्तो राजतन्त्र ल्याउन खोजेको हो भन्ने प्रष्ट्याउन पनि सकेको छैन । राप्रपाको एजेन्डा ‘राजतन्त्र’प्रति अधिकांश नागरिकले पत्याइहालेका पनि छैनन् । मंसिरमा सम्पन्न निर्वाचनले राजा फर्काउने गरी राप्रपाले मत नै पाएन । नेताहरु आफैं पनि सांस्कृतिक, धार्मिक वा सक्रिय राजतन्त्र कुन हुनेभन्नेमा प्रष्ट छैनन् । को राजा बन्ने ज्ञानेन्द्र, पारस वा हृदयेन्द्र भन्नेमा पनि राप्रपा अलमलमै छ ।
ठूला दलका प्रवृत्ति, जनतामा बढ्दो असन्तुष्टिलाई नै क्यास गरेर राप्रपा वर्तमान व्यवस्था नै खराब रहेको भाष्य बनाउन खोज्दै छ । तर, राजसंस्थाको आवश्यकता र औचित्यबारे प्रष्ट पार्न सकेको छैन । यही नाममा जनताको सेन्टिमेन्ट क्याच गर्न भने राप्रपा उद्धत छ ।
संविधानमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्र जनताका माग नभएको चर्चा सेलाएको छैन । मुलुकको बहुसंख्यक तप्कालाई रुष्ट बनाएर, यति संवेदनशील मुद्दाहरूमा अल्पसंख्यक वा विदेशीका एजेन्डा लादेको आरोप लगाइरहने राप्रपा अहिलेकै अवस्थामा त्यो सम्भव छैन भन्नेमा पनि प्रष्ट छ । तर पार्टीको सिद्धान्तलाई जनस्तरबाट हराउन नदिन उसले राजतन्त्रका लागि वकालत गर्न भने छोडेको छैन ।
कुनैपनि व्यवस्था जनताको नरहेसम्म राजनीतिले स्थिरता प्राप्त गर्न सक्दैन । त्यसैले एकापट्टी राजतन्त्र र अर्को पट्टि हिन्दु राष्ट्रको मुद्दा राप्रपाको एजेन्डा बन्ने गरेको छ । ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गराएर जनमत बुझ्ने प्रयास गरेपनि अहिलेसम्मको अवस्था हेर्दा राप्रपा मात्रै तातेको छ जनता भने होइनन् ।
प्रतिक्रिया