प्लाष्टिकमुक्त इलाम : विकल्प फेब्रिक (भिडियो रिपोर्टसहित)
१ साउन २०८० इलाम । इलाम नगरपालिका प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएको १२ बर्ष बितिसक्यो । घोषणापछि नगरपालिकामा प्लास्टिकको विकल्पमा फेब्रिक झोला प्रयोगमा ल्याइयो र त्यसलाई इलामे झोलाका रुपमा चिनाइयो ।
इलामलाई प्लास्टिक मुक्त नगरपालिका घोषणा गरिए पनि प्लास्टिकको विकल्पका झोला उत्पादनमा स्थानीय सरकारले चासो देखाएन । अहिले युवा व्यवसायी फेब्रिकको झोला उत्पादन गरेर स्थानीय सरकारको कदमलाई साथ दिँदै आएका छन् ।
इलामे झोलाको पहिचान बन्दा पनि बाहिरी जिल्लाबाट फेब्रिक झोला ल्याउनु पर्ने बाध्यता देखेर इलाम नगरपालिकाका युवा व्यवसायी प्रज्ववल ताम्रकारले फेब्रिकको झोला उत्पादन गर्ने कारखाना स्थापना गर्नुभयो ।
४० लाख भन्दा बढीको लगानीमा इलाम बजारमा यसको उद्योग खोलिएको छ । सुन्दरता इलामेली झोला उद्योग नाम दिएर स्थापित उद्योगबाट सात आकारमा दैनिक पाँचसय केजी फेब्रिक झोला उत्पादन हुँदै आएको छ ।
प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएका १२ बर्ष बित्दा पनि फेब्रिक झोला तराईका जिल्लाबाट ल्याइँदै आएको छ । स्वदेशमै बसेर सानो उद्योग खोलेर रोजगारी दिने जमर्कोसहित सुरु गरेको उद्योगले ६ जनालाई रोजगारी समेत दिइरहेको छ ।
उद्योगबाट उत्पादित झोला प्रतिकेजी २ सय ५० रुपैंयाँमा इलाम बजारमा बिक्रि हुन्छ । हाल इलाम बजार क्षेत्रमा मात्र झोला बिक्री गर्दै आए पनि अब बिस्तारै जिल्लाका प्रमुख बजारसहित पाँचथर र ताप्लेजुङ्ग जिल्लासम्म पु¥याउने योजना ताम्रकारको छ ।
यस्ता झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग पुग्नेछ । त्यसो त फेब्रिक झोलाको प्रयोग इलाम नगरपालिका मात्र नभई जिल्लाका प्रमुख बजारहरुमा पनि छ ।
प्रतिक्रिया