झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

२०८० असार ३१ गते १०:४८
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

३१ असार २०८० झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो ।

क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ ।

राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिनुभयो । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”

उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिनुभयो ।

सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्रा डा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताउनुभयो । झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *