नदी दोहनले मानव बस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

२०८० असार ३० गते १६:४३
नदी दोहनले मानव बस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

३० असार २०८० सिरहा । नदीजन्य पदार्थको मनलागी दोहन मुलुकको कुनै एक स्थानको मात्र समस्या होइन । देशभरका कैयौं नदी र खोलानालामा वर्षौंदेखि अनुमतिबिनै जथाभावी उत्खनन भइरहेका छन् ।

अनुमति लिएर उत्खनन गरेकाहरूले पनि सरासर मापदण्डको उल्लंघन गरेका छन् । र, यो अहिलेको मात्रै मुद्दा पनि होइन । सिरहामा त विकास निर्माणका लागि भन्दै दर्ता भएका खानीबाट ठेकेदारले दिनहुँ ग्राभेल उत्खनन गर्दा वरपरका वस्ती नै जोखिममा परेका छन् ।

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरू आफैंले खोलानदीहरूलाई छोटो बाटोबाट मनग्य मुनाफा कमाउने सजिलो साधन बनाउनतर्फ लागेपछि प्राकृतिक स्रोतको दोहन बढ्दै गएको छ । यस्तो अवैध उत्खननका कारण तराई–मधेसको प्रकृतिमाथि दक्खल पुगिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिकामा दिनरात उत्खनन हुँदा वडा नम्बर १३ को वस्ती नै जोखिममा छ । आम्दानी गर्ने नाममा अवैध उत्खनन गर्न जनप्रतिनिधिदेखि सरोकारवाला सबैको मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् । केही समयअघि स्थानीयले उत्खनन रोक्न ट्रिपर, जेसिबीलाई रोक लगाएका थिए । तर, कसैको डेग चलेन । बरु उत्खनन झन् बढै गयो ।

छेउमै विद्यालय छ । उत्खननका क्रममा निस्कने धुलो र ट्रिपर र जेसीबीको निरन्तर आवागमनले विद्यालयको पठनपाठनमा समेत असर पुगेको छ । गाउँमा पानीको समस्या बढ्दै गएको छ । उत्खननले गर्दा यो क्षेत्र मरभूमिमा परिणत हुन थालेको छ ।

निरन्तरको उत्खनन र प्रकृति दोहनबारे नगरपालिका बेखबर छैन । किनकी ग्राभेल उत्खनन गर्न नगरपालिकाले नै अनुमति दिएको हो । अहिले गाउँवस्ती डुवानमा पर्ने अवस्था सिर्जना भएपछि भने नगरपालिकाले यसबारेमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने दावी गरेको ।

प्रकृति र पर्यावरणमाथिको क्षति अपूरणीय भएकाले यसलाई रोक्न सबै सरकारले तदारुकता देखाउनुपर्नेमा उल्टै विना अध्ययन अनुमति दिँदा समस्या बढ्दै गएको छ । वनक्षेत्र, नदी र चुरेमाथि भैरहेको अनावश्यक दोहन रोक्न सकिएन भने भोलि यसले ठूलो विपत्ति निम्त्याउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *