राजनीति

विश्व राजनीतिमा आफ्नो प्रभाव छाड्न नसक्नु नेपालको कमजोरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २९ गते १८:१६
विश्व राजनीतिमा आफ्नो प्रभाव छाड्न नसक्नु नेपालको कमजोरी (भिडियो रिपोर्टसहित)

२९ असार २०८० काठमाडौं । नेपाल दुई उदाउँदा शक्तिराष्ट्र चीन र भारतबीचमा छ । यी राष्ट्रबीच हुने शक्ति प्रतिष्पर्धाको प्रभाव नेपालको आन्तरिक राजनीति, वैदेशिक सम्बन्ध लगायत धेरै क्षेत्रमा पर्छ । यी दुई राष्ट्र बाहेक विश्वशक्ति कायमै राख्न प्रयासरत् अमेरिकाको नेपाल चासो पनि कम छैन ।

हुनत नेपाल भूराजनीतिक महत्वमा नपर्ने व्याख्या र विश्लेषण हुने गरेको छ । विश्व राजनीतिमा आफ्नो प्रभाव छाड्न नसक्नु नेपालको कमजोरी हो । तर, यो भौगोलिक परिवेशले नेपाललाई शक्ति राष्ट्रहरुको तानातानमा पार्छ नै । त्यसमा पनि अमेरिकी चाहना यहाँ चिनियाँ वर्चश्व नहोस् भन्ने छ भने चीन पनि आफ्नो छिमेकमा अमेरिकी प्रभाव कम होस् भन्ने चाहन्छ ।

अहिले अमेरिकी विदेशमन्त्रालयका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा हुनुहुन्छ । उहाँको मुख्य चासो अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कार्यान्वयनमा प्रगति बुझ्ने भनिएको छ । तर, नेपालमा धार्मिक अतिवाद हावी भएको आरोप लगाइरहेको अमेरिकाका यी प्रतिनिधिले यो विषयमा चासो राख्ने नै छन् ।

त्यसबाहेक सधैंझै नेपालमा चिनियाँ प्रभाव कम गर्नुपनि लूको ध्येय मान्नेहरु उत्तिकै छन् । लू आफै पनि पछिल्लो दुईवर्षमा तीन पटक नेपाल आइपुग्नुभएको छ । यो दुईवर्षमा धेरै अमेरिकी उच्चअधिकारीहरु नेपाल आएका छन् ।

अमेरिकाबाट को कहिले आए ?
२०८० असार अन्तिम साता – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू
२०७९ माघ दोस्रो साता – अमेरिकी उपमन्त्री भिक्टोरिया न्युल्याण्ड
२०७९ भदौ दोस्रो साता – एरिक स्वालवेल नेतृत्वको चार सदस्यीय संसदीय टोली
२०७९ साउन दोस्रो साता – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू
२०७९ जेठ अन्तिम साता – अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्स ए फ्लिन
२०७९ जेठ पहिलो साता – अमेरिकी उपमन्त्री एवं विदेश संयोजक उज्रा जिया
२०७८ चैत पहिलो साता – अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ
२०७८ साउन दोस्रो साता – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू

अमेरिकी अधिकारीहरुको यो भ्रमणसँगै नेपालमा रहेका तिब्बती शरणार्थीबारे पनि चासो रहने गरेको छ । यो चासोलाई चीनले भने सकारात्मक मान्ने गरेको छैन । जेठको अन्तिम सातामा बेइजिङ पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि चिनियाँ पक्षले यही नेपालमा अमेरिकी गतिविधिबारे चासो राख्यो ।

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी कमिटी अध्यक्ष झाओ लेजी हुन वा चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ हनिङसँगको भेटवार्तामा किन नहोस्, नेपालमा भारत वा अमेरिकाका तर्फबाट आफ्नो मुलुकलाई अप्ठेरो पार्नेगरी नेपालमा गतिविधि हुनसक्ने तर्फ चासो राखेका थिए । अमेरिकी अधिकारीहरुको लगातारको काठमाडौं भ्रमणसँगै चीनले पनि आफ्ना उच्च अधिकारीहरु नेपाल पठाउने गरेको छ । साउन ७ गते चिनियाँ कम्युनिष्ट पार्टीका २३ सदस्यीय पोलिट्व्यूरोमध्येका एक युआन जियाजुन काठमाडौं आउँदै हुनुहुन्छ । अमेरिकाले तिब्बतीबारे चासो राखिरहँदा चीनले पनि नेपालमा अमेरिकी गतिविधिबारे चासो राख्ने गरेको छ ।

चीनबाट को कहिले आए ?
२०७९ कात्तिक अन्तिम साता – संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन
२०७९ असोज तेस्रो साता – राष्ट्रिय जनकंग्रेस चीनका अध्यक्ष ली चान्सु
२०७९ असार अन्तिम साता – सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान चाओको चारदिने भ्रमण
२०७८ चैत दोस्रो साता – चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमण

नेपाल मामिलामा अहिले यी दुईशक्ति राष्ट्र प्रतिष्पर्धामा देखिएका छन् । नेपालमा यी दुई राष्ट्र एक–अर्काका विषयमा चासो बढाउने गर्छन् । नेपालले सन्तुलित सम्बन्ध कायम गर्न दुबैसँग विश्वासको वातावरण बनाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्