सर्पदंशको शिकार, बाटैमा उपचार पाएपछि यसरी बच्यो ज्यान (भिडियो रिपोर्टसहित)

२०८० असार २६ गते १६:४०
सर्पदंशको शिकार, बाटैमा उपचार पाएपछि यसरी बच्यो ज्यान (भिडियो रिपोर्टसहित)

२६ असार २०८० बाँके । विषालु सर्पले डसेका बिरामीको एक घन्टाभित्रै उपचार शुरु गर्नु पर्छ । अस्पताल पुग्न ढिलो भयो भने बिरामीको मृत्यु हुने जोखिम धेरै हुन्छ ।

पछिल्लो समय अस्पताल ल्याइ नपुर्‍याउँदा नेपालगञ्जको भेरी अस्पतालमा ५ जनाको मृत्यु भइसकेको छ । तर भेरी स्पतालका सर्पदंश विशेषज्ञ चिकित्सकसहितको टोलीले बाटोमै पुगेर उपचार गर्दा दुई जनाको ज्यान जोगाउन सफल भएका छन् ।

सोमबार बिहान करिब ४ बजे सुतिरहेका बेला प्यूठान नगरपालिका–१ बडाचौरका १४ वर्षीया करिना बस्नेत र उनका १० बर्षका भाइ करण बस्नेतलाई करेत सर्पले डस्यो । सर्पले डसेको थाहा पाउना साथ आफन्तले जिल्ला अस्पताल बिजुवार पुर्‍याए ।

अस्पतालका चिकित्सकले एन्टिस्नेक भेनम लिएर उपचार सुरु गरे । तर बिरामीको अवस्था जटिल बन्दै गएका कारण बिरामीलाई आइसियुमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार गरियो । प्यूठान अस्पतालका डाक्टर सुवोधकुमार बिडारी, भेरी अस्पतालका सर्पदंश विशेषज्ञ डा. कृष्ण आचार्य आचार्यसंग समन्वय गरेर बिरामीलाई नेपालगन्जमा पुराउने तयारीमा जुटे । बिरामीसंगै एम्बुलेन्समा बसेर, इमरजेन्सी इञ्चार्ज माधव रावत र स्टाफ नर्स अस्मिता केसीसंगै दाङको घोराही हुँदै नेपालगन्ज तर्फ लागे ।

बिरामीको अवस्था जटिल बन्दै गएर बाटैमा मृत्यु हुन सक्ने देखिएपछि भेरी अस्पतालमा सर्पदंश रोग विशेषज्ञ डा. आचार्य औषधि र उपकरण सहित बिरामीलाई बाटैमा पुगेर उपचार र उद्धार गर्ने गरी नेपालगञ्जबाट आफै एम्बुलेन्स लिएर दाङको घोराही तर्फ लागे । बिरामी लिएर आउँदै गरेको एम्बुलेन्सलाई दाङको घोराही नजिकैको जंगलमा भेटेर उपचार गरियो ।

सिकिस्त बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक औषधि र उपकरणसहित बाटैमा आएर उपचार सुरु गर्दा बिरामीका आफन्त भने खुसी थिए ।

चिकित्सकले उद्धार गरेका करण र करिनाको भेन्टिलेटर र आइसीयुमा उपचार भइरहेको छ । समय मै विशेषज्ञबाट उपचार पाएका कारण करिना खतरा मुक्त छिन् भने भाइको अवस्थामा सुधार भइरहेको छ ।

चिकित्सकको सक्रियताका कारण करण र करिनाले नयाँ जीवन पाए । तर, यो घटनाले सर्पदंशको उपचार हुने अस्पताल भने हरेक जिल्लामा आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *