शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो लोपोन्मुख कृष्णसारको संख्या, व्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

२०८० असार २५ गते १६:१४
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो लोपोन्मुख कृष्णसारको संख्या, व्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

२५ असार २०८० कैलाली । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटमा स्थानान्तरण गरिएका लोपोन्मुख कृष्णसारको संख्या बर्सेनि बढिरहेको छ ।

करिब ५९ वर्गकिलोमिटर क्षेत्रमा संरक्षित गरिएको कृष्णसारको संख्या अहिले २ सय ६४ पुगेको छ । संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएपछि तिनको व्यवस्थापनमा समस्या हुन थालेको छ ।

२०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट कृष्णसार स्थानान्तरण गरिएको थियो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए भने अहिले त्यो संख्या बढेर २ सय ६४ पुगेको छ । निकुञ्जको पूर्वी क्षेत्रमा रहेको हिरापुरफाँटमा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ अर्थात छहारी निर्माण गरिएको भएपनि अहिले अहिले त्यो संरचना अपुग भएको छ ।

स्थानान्तरण गरिएको सुरुका वर्षमा भालेहरू आपसमै लड्ने तथा जुकाका कारण मृत्यु हुने गरेका कारण यसको संख्या बढ्न सकेन । तर केही वर्षयता भने निकै उत्साहजनक ढंगले संख्या वृद्धि भइरहेको छ । जसले निकुञ्ज मात्रै नभई वन्यजन्तु संरक्षण विभागलाई समेत सोच्न बाध्य बनाएको छ ।

व्यवस्थापनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ५८ दशमलव आठ हेक्टरमा बासस्थानका लागि ६ वटा ब्लक बनाएर तारबार गरेको छ । घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने कृष्णसार भाले कालो र पोथी खैरो रङको हुन्छ । कृष्णसार बर्दिया र शुक्लाफाँटामा मात्रै पाइने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिने पर्यटन व्यावसायी बताउँछन् ।

देशभर कृष्णसारको संख्या संख्या कम भएसँगै चार वर्षको अध्ययनपश्चात संरक्षणका लागि शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । अहिले यसको संरक्षणमा प्रदेश सरकार पनि गम्भीर देखिएको छ ।

विश्वमै सबैभन्दा धेरै बाह्रसिङ्गेको झुण्ड पाइने शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडा तथा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान छ । उक्त घाँसे मैदान मुलुककै संरक्षित क्षेत्रमध्येकै ठूलो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *