बजेट निकाशा नहुँदा बाँकेका दीर्घरोगीले ९ महिनादेखि पाएनन् भत्ता (भिडियो रिपोर्टसहित)
२५ असार २०८० बाँके । संघीय सरकारले तीन महिनामा दीर्घ रोगीलाई उनीहरूकै बैँक खातामा मासिक पाँच हजारको दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, बजेट निकाशा नहुँदा बाँकेका दीर्घ रोगीले ९ महिनादेखि भत्ताबापतको रकम पाएका छैनन् ।
सरकारले चालु आर्थिक २०७९र०८० देखि क्यान्सर, मिर्गौला रोग लगायतका गम्भीर प्रकृतिका बिरामीलाई उनीहरु बसोबास गर्ने पालिका बाटै मासिक ५ हजार भत्ता उपलब्ध गराउन सुरु गरेको थियो ।
साउन भदौ र असोज गरी तीन महिनाको भत्ता रकम बितरण भए पनि कार्तिक देखि असार अर्थात ९ महिनाको भत्ता रकम निकास नहुँदा नेपालगन्ज उप महानगरपालिका क्षेत्रका १ सय ५७ जना दीर्घ रोगीले असारको २४ गते सम्म पनि मासिक भत्ता पाउन सकेका छैनन् ।
सरकारले २०७८ चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक पाच हजार रुपैयाको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।
मासिक भत्ता नपाउँदा मिर्गौला खराब भएर नियमित रुपमा डायलसिस गराउँदै आएका बिरामीस मस्यामा परेका छन् । नेपालगञ्जका दीर्घ रोगीले चालु आर्थिक वर्षमा तीन महिनाको मात्रै भत्ता पाएका छन् । नौ महिनादेखि भत्ताको रकम वितरण नहुँदा अत्यावश्यक औषधी किन्न समेत समस्या भएको गुनासो गरेका छन् ।
तर, नेपालगञ्ज उपमहानगरपालिकाले भने बजेट निकाशा भइ आएको दावी गर्दै केही दिनमै बिरामीको खातामा पठाउने दावी गरेको छ ।
सरकारले उपलब्ध गराउन भत्ता लिनका लागि मिर्गौला प्रत्यारोपण गरेका, डायलसिस गराइ रहेका , क्यान्सर भएका, मेरुदण्डको पक्षघात भएको भन्ने चिकित्सकले प्रमाणित गरेको कागज पत्र सहित बिरामीले आफु बस्ने वडाको कार्यालयमा निबेदन दिनु पर्दछ ।
निवेदनका आधारमा वडा कार्यालयले बिरामीको विवरण पालिका कार्यालय हुँदै स्वास्थ्य मन्त्रालयमा पुगेपछि मन्त्रालयले बजेट निकाशा गरेर पालिका हुदै वडा कार्यालयमै पठाएर बिरामीको बैक खातामा उपलब्ध गराउने गरिएको छ ।
प्रतिक्रिया