Main News

रक गायक रविनलाई कसले कसरी सम्झिए ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २४ गते १८:५२
रक गायक रविनलाई कसले कसरी सम्झिए ? (भिडियो रिपोर्टसहित)

२४ असार २०८० काठमाडौं । रकस्टार रविन तामाङको आइतबार अन्त्येष्टि गरिएको छ । नेपाली रक गायनका पहिलो पुस्ता रविनले मंगलबार आफ्नै निवास बूढानीलकण्ठमा अन्तिम स्वास लिएका थिए ।

रविनको पार्थिव शरीर आइतबार बिहान नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाका फूल चढाउन उपस्थितहरु रविनको वियोगमा विक्षिप्त देखिए ।

रक गायनमा बामे सर्दै गरेको नेपाली संगीतलाई ऊर्जा भर्न आईपुगेका थिए, रविन एण्ड द न्यू रिभोलुसनका मुख्य भोकलिष्ट रविन तामाङ । ब्रिटिस सेनामा सक्रिय परिवारका सन्तान रविन सन् १९६३ मा सिंगापुरमा जन्मिएका थिए । मेकानिकल इन्जिनियरिङ तर्फको पढाइसकेपछि उनी रक म्युजिकमा जोडिएका थिए ।

अमेरिकी गायक तथा संगीतकार जिम्मी हेन्ड्रिक्स र रक ब्यान्ड डिप पर्पलबाट प्रभावित उनी क्यानडामा रेस्टुरेन्ट व्यवसायका साथमा सांगीतिक ब्यान्ड खोलेर संगीतमा लागेका थिए ।

सन् १९८० मा टोरन्टोको हम्बर कलेजमा पढिरहेको समयमै रक ब्याण्ड खोलेर विभिन्न ठाउँमा प्रस्तुति दिइ चर्चित भइसकेका रविन नेपाल आउँदा केही ब्याण्ड र गायकहरु रक म्युजिकमा सक्रिय भइसकेका थिए । तर सन् १९९६ मा नेपाल आएका रविनले आफूलाई रक गायक र पर्फमरका रुपमा आफूलाई पृथक रुपमा स्थापित गरी रक प्रेमी स्रोता र दर्शकको मनमा छुट्टै स्थान मात्र बनाएनन्, गढेर बसे ।

नेपालमा आएपछि पोखरालाई केन्द्र बनाएर उनले ब्याण्ड स्थापना गरेर विभिन्न ठाउँमा प्रस्तुति दिए । उक्त ब्याण्डका सदस्यहरु विभक्त भएपछि उनले खोलेको नयाँ ब्याण्ड रविन एण्ड द न्यू रिभोलुसन थप ख्यातीका साथ उदायो । दम मारो दम हिन्दी गितबाट रक म्युजिकमा प्रसिद्धि पाइसकेका उनले भुलमा भुल्यो, चिसो चिसो हावामा, माइला भाइ, केटाकेटीलगायत कयौँ लोकप्रिय गीतहरु नेपाली स्रोता–दर्शकका लागि पस्किए ।

यो ब्याण्डबाट चर्चाको शिखरमा पुगेका बेला उनले चलचित्रहरुमा अभिनय गरेर आफ्नो बहुमुखी व्यक्तित्व स्थापित गरिदिए ।

पछिल्लो समय त रविन गायनभन्दा अभिनयमा व्यस्त थिए । २०६७ सालमा छड्के चलचित्रबाट फिल्मी करिअर सुरु गरेका उनले मुखौटा, वान वे, जय परशुराम, नाका, कमाण्डर, चिसो एस्ट्रेमा जस्ता थुप्रै चलचित्रमा काम गरिसकेका थिए र खलपात्रमा आफूलाई स्थापित गरिसकेका थिए ।

उनै रविनलाई अन्तिम बिदाइका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपस्थित भएकाहरु भावविह्वल देखिए ।

युवापुस्ता र खासगरी ऊर्जाशील गीतहरुमा झुम्ने सर्कल उनको निधनले स्तब्ध बनेको छ । रविनको निधनले रक म्युजिकको अभियन्ता र पहिलो पुस्ताको नेतृत्व नै गुमाएको महसुस धेरैलाई भएको छ ।

मुख्यगरी गीतसंगीतसँग जोडिएको उत्तरआधुनिक फेशन वा ग्लामर्समा रविनको नाम सँधै सिरानमा आउने गर्छ । रक म्युजिक प्रेमीहरुबाट आफ्नो भौतिक शरीरले बिदा लिँदा रविनको उमेर भने ६० वर्ष मात्र भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *