मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनका लागि सचेतना

२०८० असार २३ गते ९:२४
मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनका लागि सचेतना

२३ असार २०८० कञ्चनपुर । मासु जाँच ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले सचेतना अभियानलाई अगाडि बढाएको छ ।

प्रदेशका नौवटै जिल्लामा सचेतनामूलक कार्यक्रमको आयोजना गरी मन्त्रालयले उपभोक्तालाई गुणस्तरयुक्त मासुको उपभोग गर्नमा जोड दिन थालेको हो । ऐनमा रहेका प्रावधानबारे मासु व्यवसायी, उपभोक्ता, स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिन थालेको छ ।

ऐनको प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि मासु व्यवसायी र उपभोक्ताले जागरुक हुनुपर्ने मन्त्रालयका सचिव मदनसिंह धामीले बताउनुभयो । दशकअघि सुदूरपश्चिम क्षेत्रका बजारमा झिङ्गा भन्केको, रातो कपडाले मासुलाई छोपेर पानी छर्केको र झिङ्गा भगाउन विषादी छर्कने गरिएको देखिने गरेको चर्चा गर्दै उहाँले हाल उपभोक्ता जागरुक बन्दा अहिले त्यो कार्य हट्दै गएको बताउनुभयो ।

“परिवर्तन एकै पटक हुँदैन”, उहाँले भन्नुभयो, “सुधार गर्दै लैजाने हो, समन्वय गर्ने हो, सुधार गर्र्र्नै नचाहनेलाई ऐनमा भएको व्यवस्थाअनुसार कारबाहीको दायरामा ल्याएर मासु पसललाई व्यवस्थित बनाउन सकिन्छ, यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।” ऐनमा व्यवस्था भएअनुसारको व्यवस्थित मासु पसल सञ्चालनका लागि प्रस्तावसहित आए मन्त्रालयले आवश्यकताका आधारमा अनुदान दिने उहाँले उल्लेख गर्नुभयो ।

पसल सुधारदेखि मिटमार्ट सञ्चालन गर्नका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयलाई जिम्मा दिइएको जानकारी दिनु हुँदै उहाँले रेकर्ड हेरेर अनुदान उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा नरेशप्रसाद जोशीले स्वस्थकर मासुको उपभोग गर्नुपर्दछ भन्ने जनचेतनाको अभावका कारण उपभोक्ताले अस्वस्थकर मासुको उपभोग गरिरहेको बताउनुभयो ।

पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय तहले चासो देखानुपर्ने उल्लेख गर्नुहुँदै उहाँले ऐनका प्रावधानलाई लागू गर्नसके उपभोक्तालाई स्वस्थ राख्न सकिने बताउनुभयो । “मासु आफैँमा पूर्ण पौष्टिकताले भरिएको आहाराको रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “मासुको उपभोग गर्न नजान्दा धेरैको सङ्क्रामक रोगका कारण ज्यान खतरा हुन्छ ।”

उहाँका अनुसार स्थानीय तहले ऐन कार्यान्वयनका लागि जनचेतनाको पक्षलाई उपभोक्ता र मासु व्यवसायीबीच पुर्याएर छलफलका माध्यमबाट सचेत पार्ने कार्य गरि रहेको बताउनुभयो । छालामा रोग सार्ने विभिन्न किसिमका भाइरस, ब्याक्टेरियालगायत हुने भएकाले छालारहित मासुको उपभोगमा जोड दिइनुपर्छ ।

मासु पसलको मापदण्ड निर्धारण गरी निर्धारित मापदण्डअनुसार मासु पसल दर्ता गरी सञ्चालनको अनुमति दिनुपर्ने उहाँको भनाइ रहेको छ । मासु पसलको नियमित अनुगमन र नियमनको कार्यलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहले संयन्त्र निर्माण गरी मासु निरीक्षकको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।

पशु बध गर्नका लागि ऐनले तोेकेबमोजिमको बधशालाको निर्माण गर्नुपर्ने, मासु पसलको सुधारका लागि मिटमार्ट, चिस्यान केन्द्र निर्माण र पशु बजारको व्यवस्थापनको कार्य गरिनुपर्दछ । “रोग लागेर वा नलागेर कालगतीले मरेको पशुको मासु बिक्री गर्न नपाइने ऐनमा व्यवस्था छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भन्नुभयो, “एक पशुको मासुलाई अर्को पशुको मासु हो भनेर मिसावट गरी बेच्न पाइँदैन, मासुको स्वभाविक गुण वा स्वाद परिवर्तन गर्ने, तौल बढाउने गरी कुनै पदार्थ मासुमा मिसाएर बेच्न पाइँदैन ।”

त्यस्तो कार्य गरेको पाइए पहिलो पटकका लागि पाँच हजार जरिवाना, दोस्रो पटकदेखि पटकैपिच्छे रु दश हजारसम्म जरिवाना वा एक महिनासम्म कैद हुने कानुनी व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । काँचो मासुको उपभोग गर्दा जनावरबाट मानिसमा सर्ने जुनोटिक रोग मिर्गी, टिवीलगायत हुनसक्ने भएकाले पकाएर मात्रै मासुको उपभोग गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।

नेपालको संविधानको धारा ४४ मा उपभोक्ताले स्वस्थ मासुको उपभोग गर्न पाउने कुराको ग्यारेण्टी गरेको चर्चा गर्नुहुँदै उहाँले मासु जाँच ऐनको प्रभाकारी कार्यान्वयन भए मात्रै उपभोक्ताको अधिकारको सुनिश्चितता हुने बताउनुभयो । पशुपन्छी तथा मत्यस्य विकास निर्देशनालय दिपायलका प्रमुख डा पानसिंह ठगुन्नाले मासुजन्य पदार्थ जति स्वास्थ्यका लागि हितकर छन्, उपभोग गर्न नजान्दा त्यतिनै हानिकारक हुने बताउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जुन मासु भनेर खाइरहेका छौँ, त्यो मासु स्वस्थकर नहुन सक्छ ।”

मासु बन्न विभिन्न प्रक्रिया पूरा हुनुपर्ने बताउँदै डा ठगुन्नाले भन्नुभयो, “जबसम्म ग्लुकोजको मात्रा सकिँदैन, त्यो मासु हुन सक्दैन, पशुको बध गरी फ्रिजमा राखेको आठ घण्टापछि मात्रै मासु खानयोग्य हुन्छ ।” उपभोक्ताले सडकमा बेच्नका लागि राखिएको मासु किन्न रुचाउने गरेको उल्लेख गर्दै उहाँले सबै जनचेतनाको अभावले त्यस्तो भएको बताउनुभयो । फ्रिजमा राखेको मासुको मात्रै उपभोग गर्नुपर्दछ भन्ने चेतना विकास गर्नुपर्नेमा उहाँको जोड छ ।

“जनचेतना फैलाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर सञ्चालनमा रहेका मासु पसललाई सुधार गर्दै लैजानुपर्दछ”, उहाँले भन्नुभयो, “सडक छेउ खोलिएका मासु पसल आफैँ बन्द हुन्छन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *