दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

२०८० असार २० गते ८:०३
दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

२० असार २०८० त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो ।

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा रु २६ लाख २० हजार अनुदान प्रदान गरेको छ । किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा टेकराज पौडेलले बताउनुभयो । चालु आर्थिक वर्ष २०७९÷८० मा पालिकाभित्रका चार सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो । यस वर्ष चार सहकारीमार्फत सङ्कलित १७ लाख ४७ हजार दुई सय लिटर दूधका लागि अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । नगरपालिकाले सहकारीलाई चेक हस्तान्तरण गरेको छ ।

कावासोती–२ को शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी, कावासोती–८ को एकीकृत दुग्ध विकास सहकारी, कावासोती–१४ को साना किसान कृषि सहकारी र कावासोती–१७ को जनकल्याण दुग्ध विकास सहकारी मार्फत सङ्कलित दूधका लागि अनुदान प्रदान गरिएको हो । कावासोती नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ । चार वर्षको अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई रु एक करोड १६ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले पहिलो वर्ष प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

नगरप्रमुख विष्णुप्रसाद भुसालले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताउनुभयो । आगामी आव २०८०÷८१ मा दूधको अनुदान रकम वृद्धि गरिने उहाँले बताउनुभयो । किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।

“दूध प्रशोधन केन्द्र स्थापना गर्ने नगरको नीति तथा कार्यक्रममा समेत समेटेका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो । पशुपालक किसानलाई दानामा धेरै लागत पर्दै आएकामा आगामी दिनमा पशु आहारा उत्पादन गर्ने गरी साइलेज उद्योग स्थापना गर्ने योजना रहेको उहाँको भनाइ छ । चालु आवमा उत्पादनका आधारमा दूधमा उपलब्ध गराएको अनुदानबाट करिब आठ सय ५० किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *