राजनीति

सत्तारुढ कम्युनिष्ट पार्टीको ‘नेकपा’ रटानले गठबन्धनमा गडबड (भिडियो रिपोर्टसहित)

२०८० असार १८ गते २१:१६
सत्तारुढ कम्युनिष्ट पार्टीको ‘नेकपा’ रटानले गठबन्धनमा गडबड (भिडियो रिपोर्टसहित)

१८ असार २०८० काठमाडौं । नेकपा विघटन भएपछि एमालेको नाम नै सुन्न नमान्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते एमालेकै फेरो समातेर प्रधानमन्त्री बन्नुभयो ।

राष्ट्रपति निर्वाचनपछि पुनः एमाले छाडेर कांग्रेससँग गठजोड गरेका प्रचण्ड सत्ता समीकरणमा फेरबदल आउने हल्लासँगै फेरि नेकपा ब्यूँताउनुपर्छ भन्न थाल्नुभएको छ ।

उहाँको यो अभिव्यक्तिले अहिले सरकार चलाउन सकस भइरहेको छ भन्ने बुझ्न कठिन छैन । दुई तिहाइको सरकार ढालेर पार्टी नै विभाजन गराएको भन्दै एमालेले उहाँको प्रस्तावलाई अस्वीकार गरको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारो वा आफूलाई असहज हुँदा सहयात्री फेर्नुहुन्छ भन्ने कुराको उदाहरण सम्झिन धेरै अघि पुग्नै पर्दैन् । मंसिर ४ को ताजा जनादेशले सरकार गठन हुनै लाग्दा अन्तिम समयसम्म कांग्रेससँग छलफलमा रहनुभएका प्रचण्ड पुस १० को मध्यान्न १२ बजे एमालेसँग तालमेल गर्नुभयो अनि प्रधानमन्त्री बन्नुभयो ।

प्रधानमन्त्री बन्न एमालेको शरण लिनुभएका प्रचण्डले त्यसको केही महिनामै एमालेको साथ छोडेर कांग्रेससँग कुम जोड्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुलाई ‘एस म्यान’को रुपमा व्यवहार गर्न खोजेको भन्दै सार्वजनिक अभिव्यक्ति नै दिनुभयो ।

यसअघि पनि विरलै सत्ता बाहिर रहनुभएका प्रचण्डले सहयात्री फेरिरहनुभएको कयौं उदाहरण छन् । एमाले छाडेर कांग्रेसमा लागेका प्रचण्ड फेरि नेकपा ब्यूँत्याँउने अभिव्यक्ति दिन थाल्नुभएको छ । यसले उहाँ कांग्रेससँग असुरक्षित महसुस गरिरहनुभएको छ भन्ने पुष्टि हुन्छ ।

निर्वाचनमा पहिलो र दोस्रो हुने दलबीच सरकार बनाउनु ठिक बेठिक भन्नेमै दुई मत छ । कोही सरकारको स्थायित्वका लागि यस्तो गठबन्धन सकरात्मक रहेको भन्छन् त कोही प्रतिपक्षी कमजोर हुने र सरकारले मनपरि गर्ने सम्भावना भएकाले यसो गर्न नहुने भन्छन् । नेता पनि सहकार्यको प्रयास भइरहेको भन्ने टिप्पणिलाई अस्वीकार गर्छन् । अनि प्रधानमन्त्रीलाई अप्ठ्यारो सिर्जना नगरेको पनि कांग्रेसको दावी छ ।

गठबन्धनमा समस्या छ भन्ने कुराको पुष्टि कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाट दिने अभिव्यक्तिले पनि पुष्टि हुन्छ । अझ थापाले त सार्वजनिक मञ्चबाट १० सिटेलाई प्रधानमन्त्री बनाउन नसकिने भन्दै नेकपा एकताको ढोका खोलिदिनुभएको छ । सत्ता गठबन्धनमा माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने सहमति छ । उता, एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सरकारले काम गर्न नसकेको भनिरहनुभएको छ ।

बजेटमा प्रधानमन्त्रीको असन्तुष्टि, भारत भ्रमणबारेको ब्रिफिङ नहुनु लगायतका कारण कांग्रेसले प्रधानमन्त्रीसँग असन्तुष्टि पोखिरहेको छ । यहीबीचमा कांग्रेस र एमालेको सहकार्यको पनि चर्चा चुलियो । नेताहरुको यो सहकार्यलाई नकारे पनि केहि न केहि पाकेको थियो भन्ने अनुमान गर्न कठिन छैन । यति हुँदाहुँदै नि एमाले अहिले नै प्रचण्डले भने झैं नेकपा एकताका लागि भने तयार छैन ।

असहज परिस्थितको साम्य भन्दा पनि सहयात्री फेर्ने बानी परेका प्रचण्ड अहिले पनि त्यहि गरिरहेका छन् । गठबन्धनमा देखिएको समस्या सामाधानमा भन्दा उहाँ एमाले र एकीकृत समाजवादीलाई एक ठाउँमा ल्याउँदै नेकपा बनाएर सहयात्री फेर्ने दाउमा हुनुहुन्छ । तर, अहिलेकै अवस्थामा उहाँको अभिलासा पुरा हुने छाँटकाँट छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्