Main News

जघन्य अपराधका सयाैँ केस, ‘अनसल्भ्ड’, मरिसक्यो पीडितको आश (भिडियो रिपोर्टसहित)

२०८० असार १७ गते २०:४६
जघन्य अपराधका सयाैँ केस, ‘अनसल्भ्ड’, मरिसक्यो पीडितको आश (भिडियो रिपोर्टसहित)

१७ असार २०८० काठमाडौं । नेपालमा थुप्रै अपराधका घटना छन् जसको अनुसन्धान टुङ्गो नलाग्दा नसुल्झिएको मुद्दा अर्थात् ‘अनसल्भ्ड केस’ बनेर दराजमा थन्किएका छन् ।

हत्या, बलात्कार,अपहरण लगायतका २१ सयभन्दा बढी गम्भीर अपराधका घटनाको दोषी नै पत्ता लागेको छैन । जघन्य अपराधका दोषी पत्ता लगाउन किन असफल छ त प्रहरी प्रशासन रुअपराधी पत्ता लगाउन नसकेको खोट प्रहरीको बर्दीमा किन झनझन् गाढा बनेको छ ?

नमिता–सुनिता हत्या काण्डदेखि निर्माला पन्तसम्म होस् वा अमर लामादेखि दिवाकर चन्दसम्मका हत्या घटनामा प्रहरीको अनुसन्धान जारी नै छ भनिन्छ, तर यी घटनाको दोषी पत्ता लाग्ला र पीडित परिवारले न्याय पाउलान् भन्ने आश लगभग मरिसकेको छ ।
प्रहरीले दोषी पता लगाउन नसेका केही प्रतिनिधि घटना

निर्मला पन्त बलात्कारपछि हत्या
२०७५ साउन १० मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धान मात्र होइन ठूला आन्दोलनसमेत भए । यो अनुसन्धानका लागि प्रहरीले थुप्रै मेकानिजम अपनायो । त्यसयताका प्रत्येक गृहमन्त्रीले निर्मलाकै हत्यारा पत्ता लगाउने कसम खाँदै पदभार ग्रहण गरे । घटनाको ५ वर्ष बितिसक्यो तर प्रहरी प्रसशनको ओठे जवफ उही छ हामी अनुसन्धान गरिरहेका छौँ ।

नमिता–सुनिता हत्याकाण्ड
४२ वर्षअगाडि २०३८ जेठमा पोखरामा तीन युवतीको हत्या भयो । नमिता–सुनिता हत्याकाण्ड नामले चर्चित सो घटनामा दिदीबहिनी नमिता भण्डारी र सुनिता भण्डारी तथा उनीहरूकी साथी नीरा पराजुलीको बलात्कारपछि हत्या भएको थियो । यो घटनापछि कयौँ आन्दोलन र तत्कालीन पञ्चायतविरोधी नाराहरु घन्किए । यो घटना पनि त्यसपछिका प्रत्यक सरकारको प्रतिष्ठाको विषय बनिरह्यो तर गुदी पत्ता नलाग्दै लगभग यो घटना अब इतिहासका पानामा सीमित बन्दै गएको छ ।

अमर लामा हत्या प्रकरण
दुर्घटनामा निधन भएका नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका गाडी चालक अमर लामाको हत्या भएको २० वर्ष पुग्यो । २०६० साउन १ मा कीर्तिपुरमा लामाको हत्या भएको थियो । लामाको हत्यालाई मदन भण्डारीको दुर्घटनासँग जोडेर विश्लेषण गरियो, हत्यारा पत्ता लगाउन प्रहरी असफल रह्यो ।

पूर्वगृहमन्त्रीका पिएसओको हत्या घटना
पूर्वगृहमन्त्री खुमबहादुर खड्काका पिएसओ सई कुबेर कार्कीको हत्याका अभियुक्त हालसम्म पत्ता लागेका छैन ।२०६३ मंसिर २० मा गोठाटारस्थित घरमा सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरी कार्कीको हत्या भएको थियो ।दबाबकै कारण यो अनुसन्धानले मूर्तरूप पाउन नसकेको प्रहरी अधिकारी बताउँछन् ।

भोजपुरमा तीन बालबालिकाको हत्या
२०७४ असारमा भोजपुरको अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालकी १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । यो घटनामा संलग्नलाई पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।

दाङका हेमराज धिताल हत्या प्रकरण
रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष तथा राप्ती अञ्चल बस व्यवसायी समितिका पूर्वअध्यक्षसमेत रहेका हेमराज धितालको २०७७ साउन ६ मा तुलसीपुर १२ जसपुरमा गोली हानी हत्या भएको थियो । दाङमा पुग्ने हरेक प्रहरी प्रमुखले सो घटना पत्ता लगाउने घोषणा गरे पनि सफल भएका छैनन् ।

व्यवसायी दिवाकरको हत्या
२०६९ मा ललितपुरको धोबीघाटमा व्यवसायी दिवाकर चन्दको घाँटी थिचेर घरभित्रै हत्या भएको थियो । हत्या भएको दिन दिवाकर केही युवतीसहित आफ्नो निवासमा गएका थिए । आर्थिक कारोबारसँग जोडिएर उनको हत्या भएको हुन सक्ने अनुमानमा प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन ।

यस्ता जघन्य घटना २ हजार १६५ वटा छन् जसको दोषी प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रहरीको तथ्याङ अनुसार ४ हजार १ सय २५ अन्य प्रकृतिका घटनाका दोषी पनि भेटिएका छैनन् । प्रहरीको अनसल्भ्ड केसमा ४५ वर्षसम्म पूराना फाइल छन् ।

जघन्य अपराधका घटनाका दोषी पत्ता नलाग्नुमा राजनीतिक शक्तिको प्रभावका साथै जनिशक्तिको अभाव र प्रविधिसमेत कारक रहेको प्रहरीको दाबी छ ।

अपराध अनुसन्धानमा नेपाल प्रही तुलनात्मक रुपमा अगाडि रहेको बताउने गरिन्छ । तर देशमा सयौँ मुद्दाहरु यस्ता छन् जसको अपराधी पत्ता नलागेको मात्र होइन, यी मुद्दा प्रहरी प्रशासनदेखि राजनीतिक रुपमा गिजोलिएर थप रहस्यको गर्तमा भासिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *