Main News

रोपाइँको समयमा बाँकेका किसानले पाएनन् रासायनिक मल (भिडियो रिपोर्टसहित)

२०८० असार १७ गते २०:३४
रोपाइँको समयमा बाँकेका किसानले पाएनन् रासायनिक मल (भिडियो रिपोर्टसहित)

१७ असार २०८० बाँके । मुलुकभर करिब १५ लाख हेक्टरमा धान र नौ लाख हेक्टरमा मकै खेती गरिन्छ। अहिले धान रोप्ने र मकै गोड्ने सिजन हो। दुबै बालीका लागि रासायनिक मल जरुरी पर्छ।

सरकारले पर्याप्त रहेको जति नै दाबी गरेपनि किसानले मल पाएका छैनन्। बाँकेमा मागको ५० प्रतिशत पनि नपुगेपछि मल बिना नै धान रोप्न विवश छन् किसान।

अन्नको भन्डारको रुपमा रहेका पश्चिम तराईका जिल्ला बाँके र बर्दियामा रासायनिक मलको अभाव हुँदै मल विनै धान रोपाइ गरिरहेका छन् । बाँकेमा युरिया ६ हजार , डिएपी ३५ सय, पोटास २ सय मेट्रिक टनको माग छ । तर हालसम्म कृषि सामग्री कम्पनीमा युरिया करिब २६ सय, डिएपी १४ सय ४० र पोटास १ सय ९ मेट्रिक टन मात्रै आएको छ ।

किसानलाई रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री कम्पनीले किसानको मागको करिब ५० प्रतिशत मात्रै मल उपलब्ध गराएको छ । माग भन्दा करिब आधा मल आएकाले किसानले सहज रुपमा पाउन सकेका छैनन् । रासायनिक मल उपलब्ध नभएपछि बाँकेका किसानले रासयनिक मल बिनै धान रोप्नु परेको गुनासो गरेका छन् ।

सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल कृषि सामग्री कम्पनीले कृषि सहकारी संस्थामार्फत किसानलाई वितरण गर्दै आएको छ ।

धान दिबसको दिन गृह जिल्ला आएका लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भन्डारी लाल अहिरसंग किसानले धान खेतीका लागि मल उपलब्ध गराउन आग्रह गरेका थिए । कृषि मन्त्री अहिरले किसानलाई माग अनुसार मल उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको बताउँदै सीमा पारीबाट मल ल्याउने किसानलाई दुःख नदिन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

बाँके, बर्दिया धान खेतीका लागि पकेट क्षेत्र हुन् । बाँकेमा ३६ हजार ५ सय र बर्दियामा ५० हजार २ सय ५० हेक्टर हेक्टरमा धान खेती हुन्छ । धान खेतीलाई अन्य बालीको तुलनामा धेरै मल आवश्यक पर्छ । धानको ब्याड राख्दा डिएपी मल आवश्यक पर्छ । धानको राम्रो उत्पादनका प्रति कठ्ठा करिब ६ केजी युरिया मल आवश्यक पर्छ । ६ कठ्ठा युरिया मललाई २–२ कठ्ठाका दरले रोप्ने बेला, गाज लाग्ने बेला र फूल फुल्ने बेला छर्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *