पाटेबाघको हाडछाला तस्करी गर्ने तस्कर समूह सक्रिय (भिडियो रिपोर्टसहित)
१७ असार २०८० बाँके । बर्दिया राष्ट्रिय निकुन्जबाट दुर्लभ मानिएको पाटेबाघको हाडछाला तस्करी गर्ने संगठित गिरोह फेरि सक्रिय भएको छ।
राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेपछि तस्करको सक्रियता पनि बढेको हो । पछिल्लो एक महिनाको तथ्यांकअनुसार पाटे बाघको छाला र हड्डीसहित बाँके र दाङबाट ७ जना पक्राउ परेका छन्।
बाँकेको कोहलपुर क्षेत्रबाट प्रहरीले बिहिबार दुर्लभ वन्यजन्तु पाटे बाघको छाला र हड्डी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तबाट बयस्क पोथी बाघको ९ फिट ८ इन्च लामो र ६ फिट ६ इन्च चौडाई भएको छाला र ६ केजी ८१८ ग्राम बाघको हड्डी बरामद गरेको छ ।
बरामद भएको बाघको छाला, हड्डी र पक्राउ परेका अभियुक्तलाई प्रहरीले थप कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाएको छ । अभियुक्तले सुर्खेतबाट गाडी रिर्जब गरेर बाघको छाला र हड्डी बोकेर कोहलपुर ल्याउँदै गर्दा पक्राउ परेका हुन् । अभियुक्तले आफु भरिया मात्रै भएको र एक लाख रुपैयाँ पाउने लोभले बाघको छाला र हड्डी ल्याएको बयान दिएका छन् ।
बरामद भएको बाघको छाला गत बर्ष बर्दिया राष्ट्रिय निकुन्जमा गरिएको बाघ गणनामा क्यामरा ट्रयापिङमा रेकर्ड भएको एफटीजिरो नाइन नम्बरको बाघसंग मिलेको छ । बरामद भएको बाघको छाला बर्दिया राष्ट्रिय निकुञ्जको बाघको भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
यस्तै, गत जेठ २६ गते इलाका प्रहरी तुल्सीपुर दाङको टोलीले लमही नगरपालिका वडा नं।९ अमिलियाबाट बाघको दुर्लभ पाटेबाघको छाला र हड्डी सहित ४ जनालाई पक्राउ गरेको थियो । बरामद भएको पाटेबाघको छालाको लम्बाई साढे ९ फिट लामो र चौचाई ५ फिट १० इन्च छ । अभियुक्तबाट साढे ८ केजी दुर्लभ बन्यजन्तु पाटे बाघको छाला र हड्डी समेत बरामद गरेको थियो ।
बरामद भएका सामग्री कुन बाघको हो भन्ने यकिन भएको छैन । यि दुई घटनाले पछिल्लो समय दुर्लभ बन्यजन्तुको संख्या जति बढ्यो त्यति नै तस्कर पनि सलबलाएका छन् । पछिल्लो गणना अनुसार बर्दियामा १ सय २५ र बाँकेमा २५ वटा दुलर्भ बयस्क पाटे बाघ छन् ।
पक्राउ परेका अभियुक्तको कसुर प्रमाणित भएमा राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन बमोजिम ५ देखि १५ बर्ष सम्म कैद वा ५ देखि १० सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यबस्था छ ।
बाघका अंगमध्ये ४० प्रतिशत परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको पाइन्छ । यसको शिरदेखि नंग्रासम्मै र रगत तथा यौनांगको समेत किनबेच हुने गर्छ । चीनले बाघको हड्डीबाट वाइन बनाउँछ । भियतनामीहरूले भने बाघका अंगबाट यौनशक्ति बढाउने औषधि समेत बनाउने गरिन्छ ।
बाघको मासु खाँदा मलेरिया र पेटजन्य रोग निको हुने चिनियाँहरूको विश्वास छ । बाघको फोक्सोबाट बनेको परम्परागत औषधिले क्यान्सर निदान हुने विश्वास छ भने पुच्छरबाट छालाजन्य रोग निको हुने औषधि बन्ने गरेको छ । त्यसैले पनि नेपालबाट तस्कर गरेर विदेशीलाई बेच्दा मनग्य पैसा पाइने भएपछि यसको नेक्सस निकै ठूलो रहेको विश्वास गरिन्छ ।
प्रतिक्रिया