आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

२०८० असार १४ गते ७:२९
आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

१४ असार २०८० काठमाडौं । मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *