राजनीति

कांग्रेस-एमाले समीकरणकाे हल्ला मात्र (भिडियो रिपोर्टसहित)

२०८० असार १२ गते २०:५७
कांग्रेस-एमाले समीकरणकाे हल्ला मात्र (भिडियो रिपोर्टसहित)

१२ असार २०८० काठमाडौं । कांग्रेस र एमाले नजिकिएको हल्लासँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयुबारे अड्कलबाजी सुरु भएको छ। दुबै दलका दोस्रो तहका नेताबीच सत्ता सहकार्यलाई नै केन्द्रमा राखेर छलफल भइरहेको दाबी छ। तर, दुबै दलले चर्चा र शंकाबारे आधिकारिक रुपमा प्रष्ट पारेका छैनन्।

यसले सत्ता गठबन्धनभित्र संशय त थपेकै छ, नागरिक पनि ६ महिनामै सत्ता समीकरण फेरिने हो कि भन्नेतर्फ चासो दिन थालेका छन्।

संसदीय लोकतन्त्रमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनुलाई स्वभाविक मानिदैन। किनकि, विपक्षी कमजोर हुँदा सरकार स्वच्छचारी बन्न सक्छ। तर, हामी कहाँ भने संसदका ठूला शक्ति अर्थात् कांग्रेस–एमाले मिलेर सरकार बनाएको उदाहरण छन्।

– २०६६ सालमा माओवादी केन्द्र संसदको पहिलो शक्ति थियो। तर, जेठ ११ गते नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए।
– २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि माघ २९ मा सुशील कोइराला नेतृत्वको सरकारमा पनि कांग्रेस–एमालेबीच सहकार्य भएको थियो।

त्यसयता माओवादी केन्द्र बोक्दै आएका दुबै दल फेरि सत्ता साझेदारीको निश्कर्ष नजिक पुगेको हल्ला छ।

समाजवादी मोर्चाको गठन, बजेटप्रति कांग्रेसमै चुलिएको असन्तुष्टि र शरणार्थी प्रकरणमा बालकृष्ण खाणको पुर्पक्ष तथा पत्नी आरजु राणाको छविमा गरिएको प्रहारका कारण कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट रहेको बताइन्छ। देउवाको यही असन्तुष्टीमा एमालेले भरपुर खेल्न खोजेको छ। तर, देउवा हतार गर्ने पक्षमा नरहेको उनी निकटका नेता बताउँछन्।

पुस १० गते सरकार बनाउन साथ दिने बचन दिएका एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई नै थुतेर बालकोट पु¥याएका कारण छैठौंपटक प्रधानमन्त्री बन्ने देउवाको चाहनामा ठेश लागेको थियो। त्यसबेला अन्तिममा ओलीले धोका दिएका कारण हातैमा आएको सत्ता फुत्किएको ठानेका देउवा सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कुर्ने कि एमालेको प्रस्ताव स्वीकार्ने भन्नेमा दोधारमै रहेको बताइन्छ।

एमालेले केही वर्ष कुरेर चुनावी सरकारको नेतृत्व गर्नुभन्दा अहिले नै अगाडि सर्न, दुई ठूला दलको सरकार बनाएर राजनीतिक स्थायित्वको सन्देश दिन र माओवादी केन्द्रसहित साना दलको बार्गेनिङ सधैंका लागि बन्द गर्ने वातावरण बनाउन कांग्रेसलाई प्रस्ताव गरेको बताइन्छ।

वामपन्थी सरकार ढालेर दलाल पुँजीवादी कांग्रेसको नेतृत्वमा सरकार बनाउन ओली सक्रिय भएको माधव नेपालको अभिव्यक्ति तथा गठबन्धन र सरकारभन्दा एजेण्डा ठूलो भन्ने कांग्रेस महामन्त्री गगन थापको भनाइले कांग्रेस–एमालेबीच केही पाक्दै गरेको संकेत त मिल्छ। तर, पक्वान तत्काल पस्किने हदमै पुग्ला भन्नेमा चाहिँ दुबै दल विश्वस्त छैनन्। किनकि, उनीहरुबीच विश्वासको संकट छ।

जे भने पनि प्रमुख दलको मुख्य एजेण्डा सत्ता नै हो। सत्ताका लागि नाजायज सम्झौतासमेत गर्दै आएका उनीहरु जहिले जोसँग पनि मिल्न संभावना रहन्छ नै। राजनीतिक स्थायित्व र समृद्धिका लागि सत्ता जरुरी रहन्छ भन्ने तर्कको बलमा कांग्रेस–एमाले फेरि मिले भने पनि अनौठो हुने छैन। किनकि, हाम्रा दल बिचार, सिद्धान्तभन्दा पनि सत्तालाई प्रधान ठान्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्