राजनीति

संसदीय निर्वाचनको ७ महिनामै नेताहरु नयाँ निर्वाचनको ‘सुरसार’ मा(भिडियो रिपोर्टसहित)

२०८० असार ११ गते २०:५४
संसदीय निर्वाचनको ७ महिनामै नेताहरु नयाँ निर्वाचनको ‘सुरसार’ मा(भिडियो रिपोर्टसहित)

११ असार २०८० काठमाडौं । नेताहरुको भाषण सुन्ने हो भने मुलुक निर्वाचनको सम्मुखमा छ । तर, निर्वाचन सकिएको भर्खर ७ महिना मात्रै भयो ।

पहिलोपटक संसदमा उदाएको रास्वपादेखि एमाले र कांग्रेसका प्रभावशाली नेताहरु नै २०८४ मा हुने निर्वाचनको जोड घटाउमा लाग्दा वर्तमान संसद बेकामे बन्ने पो हो कि भन्ने चिन्ता बढेको छ ।

यी तीन जना नेता तीन फरक पार्टीका शीर्ष तहका नेता हुन् । उहाँहरुलाई आगामी संसदीय चुनाव लागिसकेको छ । मानौं चुनाव अब हाइसक्यो । तर संसदीय निर्वाचनका लागि हामीसँग अझै साढे चार बाँकी छ ।

आफूले पाएको जनमत अनुसारको काम गर्न छाडेर वर्ष २०८४ मा हुने आम निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने, एक्लै चुनावमा जानुपर्ने जस्ता अभिव्यक्तिमा उहाँहरु रमाइनै रहनुभएको छ । संसदीय निर्वाचन सकिएको सात महिना मात्रै भएको छ तर २०८४ को निर्वाचनमा आफ्नो पार्टी बहुमतसहित सत्तामा पुग्ने दावीमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने ।

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले पनि आगामी चुनावको चटारो छ र उहाँ भन्दै हुनुहुन्छ एमाले एक्लेले एक सय ५० सिट जित्छ । यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामा पनि मिसन ०८४ को ह्याङ छ । पछिल्ला सार्वजनिक कार्यक्रममा उहाँले यो विषय जोडतोडका साथ उठाउनुभएको छ ।

चुनावपछिका सात महिनामा संसद चलायमान हुन नसकेको, समिति सभापति समेत छान्न नसकिरहेका बेला त्यसतर्फ ध्यान दिनुपर्ने यी जिम्मेवार भनिएका प्रमुख दलका युवा लेप लागेकाहरु आमागी निर्वाचनको भविष्यवाणीमै व्यस्त छन् । भित्रभित्रै साढे चार वर्षपछि हुने चुनावी तयारी अहिलेदेखि नै गरिरहेका हुन् कि एकअर्कालाई काउन्टर अभिव्यक्ति दिइरहेका छन् ?

रास्वपा भरखरै सम्पन्न उपनिर्वाचनबाट अलिक हौसिएको छ । पुराना दलप्रति जनविश्वास निरन्तर घट्दै गएको र आगामी निर्वाचनसम्म उक्त विश्वास झनै खराब हुने रास्वपाको ठम्याइ छ । भरखरै ‘मिसन ग्रासरुट’ सकेको एमालेका नेताहरु गत चुनावको पराजयबारे जनताकै बीचबाट जानकारी लिएको र आगामी निर्वाचनमा उक्त गल्ती सुधारेर जाने बताउँदै आएका छन् ।

त्यति मात्रै होइन् मंसिर ४ को निर्वाचनमा ‘चौतर्फी घेरबन्दी हुँदा पनि आफूहरुको परिणाम सकरात्मक आएको एमालेको विश्लेषण छ । यस्तै कांग्रेस पनि गठबन्धनका नाममा थोरै ठाउँमा उमेदवार दिएका कारण थोरै सिटमा खुम्चिएको निश्कर्षमा पुुगेको छ । स्वयं पार्टी महामन्त्री थापा नै आगामी निर्वाचनमा एक्लै जानुपर्ने भनिरहनुभएको छ । नयाँ संसदले काम थालेको केही महिनामै वर्षौंपछि हुने चुनावको अड्कलबाजी लाग्दा लोकतन्त्र कमजोर हुने केही दलको तर्क छ ।

हुन पनि मंसिर ४ मा जनताले दिएको जनमतलाई कदर गर्दै पाँच वर्ष संसदलाई कसरी चलायमान बनाउने र जनताका मुद्दा कसरी मुखारीत गर्ने भन्नेतर्फ यी दल र नेताले सोच्नुपर्ने हो । अझ नयाँ दललाई त पाँच वर्षमा पुराना भन्दा पृथक र जनताका मुद्दा उठाउनमा पहिलो हौं भनेर प्रमाणित गर्ने अवसर पनि हो । तर निर्वाचन भएको केही महिनामै साढे चार वर्षपछि हुने निर्वाचनको विना आधार गरिने पुर्वानुमानमा रमाउँदा उहाँहरु कतै आफ्नै जिम्मेवारीबारे जानकार त हुनुहुन्छ ? कच्चा र हास्यस्पद अभिब्क्तिमा रमाइरहेका यी नेताहरु कहिले जिम्मेवार बन्लान् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्