Main News

सार्वजनिक स्थलमा धुम्रपान प्रयाेगले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर (भिडियो रिपोर्टसहित)

२०८० असार ११ गते १७:१६
सार्वजनिक स्थलमा धुम्रपान प्रयाेगले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर (भिडियो रिपोर्टसहित)

११ असार २०८० काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ मा सार्वजनिक स्थलमा धुम्रपान गर्न नहुने उल्लेख छ । ऐन बनेको १२ वर्षसम्म पनि ऐनको कार्यान्वयन नहुँदा धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर परिरहेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐनको परिच्छेद २ को ३ मा सार्वजनिक स्थलका रुपमा
क. राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय
ख. शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था
ग. विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन
घ. बालकल्याण, बाल गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब
ङ. सार्वजनिक शौचालय
च. उद्योग तथा कलकारखानाको कार्यस्थल
छ. चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्याशाला
ज. होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्रा वा छात्रावास तथा अथिति गृह
झ. रंगशाला, कभर्डहल, शारीरीक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस
ञ. डिपार्टमेण्टल स्टोर तथा मिनि मार्केट
ट. धर्मशाला तथा धार्मिक स्थल
ठ. सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर
लाई मानिएको छ ।

ऐनको दफा ४ मा कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ति सेवन गर्न नपाउने उल्लेख छ । ऐनको परिच्छेद ५ मा सार्वजनिक स्थलमा धुम्रपान वा सूर्तिजन्य पदार्थ सेवन गरेमा धूम्रपान तथा सुर्ति जन्य पदार्थ सेवनमा तुरुन्तै रोक लगाउने, रोक लगाउँदा नमानेमा वा पटक पटक धुम्रपान वा सुर्ति सेवन गरेमा ती व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा १ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

धूम्रपान गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति भएमा धूम्रपान सेवन गर्न तुरुन्त रोक लगाउने र नमानेको खण्डमा अनुशासनमा नरहेको सरह मानी सेवा शर्तसम्बन्धी कानून बमोजिम कार्वाही गर्ने वा विभागीय कार्वाही गर्नुपर्ने उल्लेख छ । सन् २०१९ मा गरेको सर्वेक्षण अनुसार ऐन कार्यान्वयन ३० प्रतिशत मात्रै भएको छ । अहिले पनि अवस्था उस्तै नै छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि १२ लाख व्यक्तिको मृत्यु अरुले धूम्रपान गरेका कारण हुने गरेको छ । नेपालमा यसको यकिन तथ्यांक नभए पनि धूम्रपान गर्ने परिवारका सदस्य, साथीभाइ जत्ति नै सँगै रहने अर्को व्यक्तिलाई पनि यसले असर गरिरहेको हुन्छ ।

नेपालमा बर्सेनि २७ हजारभन्दा बढीको धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सार्वजनिक स्थलमा धूम्रपान सेवन नरोकिदाँ यो संख्या बढ्दै गएको अनुमान सरकारको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *