बिरामी खोज्दै घरघरमा डाक्टर, चकित बिरामी (भिडियो रिपोर्टसहित)

२०८० असार १० गते १७:०२
बिरामी खोज्दै घरघरमा डाक्टर, चकित बिरामी (भिडियो रिपोर्टसहित)

१० असार २०८० बाँके । बिरामीहरु उपचारका लागि डाक्टर खोज्दै अस्पताल र डाक्टरको क्लिनिकमा पुग्नु स्वभाविक हो । तर, बिरामी खोज्दै डाक्टर घरघर पुग्नु नौलो हो । यस्तै भएको छ, नेपालगञ्जमा ।

नेपालगञ्जको भेरी अस्पतालका निमित्त प्रमुख सर्पदंश रोग विशेषज्ञ डा. कृष्ण आचार्य गोमन सर्पले डसेर बाँचेकी एक जना बिरामीको घरमा पुग्नुभएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाकी सीता थारुको अवस्था बुझ्न डा. आचार्य उहाँको घरमै पुग्नुभएको हो ।

नेपालगञ्जको भेरी अस्पतालबाट करिब ३५ किलोमिटर टाढा रहेको बिरामीको घर मै पुगेका डाक्टर आचार्यले बिरामीको स्वास्थ्य अवस्था बुझ्नुभयो । त्यसपछि बिरामीका आफन्त र छिमेकीलाई भेटेर सर्पदंशको जोखिम र त्यसबाट बच्ने उपाय सुझाउनुभयो । अनि डाक्टर आचार्यले सर्पले डसेपछिको अवस्थामा के गर्ने भनेर बेलिबिस्तार लगाउनुभयो ।

गाउँबाट शहर गएर पैसा तिरेर अस्पतालको ओपीडी र क्लिनिक पुग्दासमेत भेट्न मुस्किल पर्ने डाक्टर आफूलाई खोज्दै आउँदा गरिब तथा विपन्न परिवारकी बिरामी सीता र आफन्तहरु आश्चर्यमा परे ।

डा. आचार्य बिरामीको घरमा पुगेको पहिलो पटक भने होइन । पछिल्लो ६ वर्षदेखि डा. आचार्य बिरामीको घरमा पुगेर अवस्था बुझिरहनु भएको छ ।

वर्षा सुरु भएसँगै नेपालगञ्जको भेरी अस्पतालको इमर्जेन्सी र आइसीयु वार्डमा सर्पले डसेका तीन(चार जना बिरामी आउने गरेका छन । देशमा बर्सेनि करिब ४० हजारलाई सर्पले डस्ने गरेको छ । त्यसमध्ये करिव तीन हजारको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

सर्पको डसाइबाट बच्न झुल लगाएर खाटमा सुत्न, रातिको समयमा घर बाहिर निस्कदा टर्च बालेर सजक भएर निस्कन र ढुंगा, दाउरा र झाडी भएको क्षेत्रमा काम गर्दा सचेत हुन विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *