उदासिन कोशी सरकार, थन्किए अस्पतालका उपकरण (भिडियो रिपोर्टसहित)

२०८० असार ९ गते २१:१७
उदासिन कोशी सरकार, थन्किए अस्पतालका उपकरण (भिडियो रिपोर्टसहित)

९ असार २०८० मोरङ । कोशी प्रदेश सरकारले उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्यो । तर, नाम परिवर्तन बाहेक आवश्यक स्तरोन्नति गर्ने काम भने अलपत्र छ ।

साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेपनि जनशक्ति भने साविककै छन् । उपकरण पनि त्यसै थन्किएका छन् ।

५० शय्याको अस्पताल भनिएपनि चिकित्सक नभएकाकारण सेवाप्रवाह अनुसार अस्पतालको स्तर वृद्धि नहुँदा बिरामी घण्टौँसम्म पालो कुर्न बाध्य छन् । अहिले पनि सामान्य उपचारका लागि विराटनगर, धरानलगायतका ठूला अस्पतालमा स्वास्थ्य उपचार सेवा लिन बाध्य छन् ।

प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रूपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा विकास एवम् स्तरोन्नति गर्नका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सरकारको निर्णय अनुसारको योजना कार्यान्वयनमा प्रशासन अहिलेसम्म जानसकेको छैन ।

काठमाडौको वीर अस्पताल पछिको ट्रमा सेन्टरका रूपमा मदन भण्डारी अस्पताललाई विकास गर्ने भनिएपनि त्यो पनि कागजमै सीमित बनेको छ । प्रदेश सरकारले एक बर्ष अघि नै ट्रमा सेन्टरको लागिआवश्यक सिटी स्क्यान मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । तर हालसम्म सिटी स्क्यान मेसिन अस्पताललाई उपलब्ध गराउन सरकारले चासो समेत दिएको छैन ।

यो अस्पतालमा पुर्वी मोरङसहित झापाका पश्चिमी भेगका गरी दैनिक ३ सय बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर अत्याधुनिक प्रविधि र उपकरण अभावसँगै यथोचित जनशक्ति व्यवस्थापन नहुँदा बिरामी प्रदेश सरकारप्रति रुष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *