सडक नबन्दा सास्ती (भिडियो रिपोर्टसहित)

२०८० असार ८ गते १६:२६
सडक नबन्दा सास्ती (भिडियो रिपोर्टसहित)

८ असार २०८० सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल कांक्रेबिहार पुग्ने सडक समयमै निर्माण नहुँदा यात्रुलाई सास्ती भएको छ। आसार १५ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम भएको छ । केही दिनमा तीस प्रतिशत काम सक्न असम्भव छ ।

अम्मर सिस्ने(नेपाल मेगा जेभी कम्पनीसँग वीरेन्द्रनगरको मंगलगढी चोकदेखि शिव मन्दिर हुँदै कांक्रेविहारसम्म सडक निर्माणका लागि २०७८ कार्तिक १४ गते ठेक्का सम्झौता भएको थियो ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास निर्देशनालयसँग १२ करोड ७६ लाख १५ हजार ४०४ रुपैयाँमा भएको सम्झौतामा २४ सय मिटर सडक निर्माणको काम २०८० असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, अहिलेसम्म कम्पनीले ७० प्रतिशत काम मात्रै सम्पन्न गरेको छ ।

समयमा काम सम्पन्न नहुँदा स्थानीयवासी हिउँदमा धुलो र वर्षामा हिलोले आजित छन् । उनीहरुलाई समयमै काम सम्पन्न हुनेमा विश्वास छैन ।

ठेकेदार कम्पनीले अहिलेसम्म सडकमा बेस बिछ्याउने काम गरेको छ । नाला र त्यसमाथि स्ल्याब बनाउने काम बाँकी नै छ । कालोपत्रेको काम सुरु भएको छैन । धुलोले सास्ती दिएपछि स्थानीयले सडक नै अवरुद्ध समेत गरे ।

त्यसपछि भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अनुगमनमा जानुभयो । निर्धारित समयमा काम सम्पन्न नभए खरिद ऐन अनुसार कारबाही गर्ने र चित्तबुझ्दो जवाफ आए म्याद समेत थपिन सकिने बताउनुभयो ।

यो बाटो समयमा नबन्दा स्थानीयलाई मात्र होइन कांक्रेविहारमा घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत सास्ती भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *