राजनीति

विचरा बाबुराम ! प्रचण्डबाट सधैं धोका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ५ गते २०:५५
विचरा बाबुराम ! प्रचण्डबाट सधैं धोका (भिडियो रिपोर्टसहित)

५ असार २०८० काठमाडौं । २०४६ सालको जनआन्दोलनपछि नेपाली राजनीतिमा परिचित अनुहार बन्यो, बाबुराम भट्टराई। माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा भट्टराई नै त्यसको नेतृत्वकर्ता हो भन्ने आम बुझाई थियो। किनकी, पुष्पकमल दाहाल प्रचण्डलाई धेरैले चिनेकै थिएनन्।

दस वर्षे सशस्त्र संघर्ष हुँदा शान्तिप्रक्रियामा आउँदासम्म माओवादी धारको वैचारिक नेतृत्व गर्नुहुने भट्टराई प्रधानमन्त्रीसम्म बन्नुभयो। त्यसबेलासम्म प्रचण्डसँग कहीले ‘प्रेम’ त कहीले ‘घृणा’को सम्बन्ध रहेपनि अक्सर भट्टराईले प्रचण्डबाट भने गैरराजनीतिक व्यवहार खेप्दै आउनु भएको छ। पछिल्लोपटक समाजवादी मोर्चा बनाउँदा पनि भट्टराई प्रचण्डबाट जिल्लिनुभएको छ।

समाजवाद, संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरुसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ। तर, सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सोमबार समाजवादी मोर्चा घोषणा गरिएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् व्यक्त गरेको धारणा हो यो। भट्टराईले समाजवादी मोर्चाप्रति असन्तुष्टि मात्रै जनाउनु भएको छैन उद्देश्य र औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ।

भट्टराईले कि यसरी मोर्चाको चर्को आलोचना गर्नुभएको होला त?
वामपन्थप्रति वितृष्णा बढेसँगै माओवादी पार्टी त्यागेपछि भट्टराईले नयाँ शक्ति नामको पार्टी बनाउनु भयो। त्यसयता पार्टी फेरिए पनि भट्टराईको समाजवादी धार टसमस भएको छैन। र, उहाँले विचार मिल्नेहरुको समाजवादी मोर्चाको निरन्तर वकालत पनि गर्दै आउनु भएको थियो।

सारमा समाजवादी मोर्चाको अबधारणा भट्टराईकै हो। तर, असार १ गतेसम्म भट्टराईको दललाई समेट्ने आश्वासन दिएका प्रचण्डले अन्तिममा नेपाल समाजवादी पार्टीलाई बाहिरै राखेका कारण भट्टराई मोर्चाप्रति असन्तुष्ट हुनुभएको हो। संसदीय गणितका माहिर खेलाडी प्रचण्डले १२ सांसद रहेको जसपालाई मोर्चामा भित्र्याएर बाबुरामलाई जिल्याइदिए।

गोरखामा चुनाव लड्नु पर्दा बाबुरामलाई सर्वश्व सुम्पिन तयार भएका प्रचण्डले चुनाव जितेर प्रधानमन्त्री भएपछि उनै बाबुरामलाई रछ्यानको बाटो देखाइदिए। अप्ठ्यारोमा बाबुराम खोज्ने प्रचण्डले अनुकूल बेलामा पटक(पटक बाबुरामलाई जिल्याउँदै नआएका भने होइनन्।

बाबुराम राष्ट्रिय राजनीतिमा किनारामा पर्नुमा धेरै कारणमध्ये प्रचण्ड मुख्य कारण हुन् भनिन्छ। माओवादी आन्दोलनदेखि यहाँसम्म आउँदा अप्ठ्यारो बेलामा प्रचण्डलाई बाबुरामले साथ दिनुभएकै छ। तर, जब बाबुरामका लागि केही गर्न सक्ने स्पेस बन्छ तब प्रचण्डले बाटो मोडेको इतिहास छ। केही दृष्टान्त हेरौं (

–संयुक्त जनमोर्चामा सक्रिय रहँदै स्थापित बाबुरामले २०५२ मा सशस्त्र युद्ध सुरु गर्दा प्रचण्डको नेतृत्व स्वीकार्नुभयो। जतिबेला एसएलसी बोर्ड फस्ट र इन्जिनियरको बाबुराम ब्राण्ड राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा बलियो औजार बन्यो। तर, पार्टीभित्रै प्रचण्डले कहिले मोहन वैद्य त कहिले रामबहादुर थापाको साथ लिएर बाबुरामलाई किनारामा पारिराख्नुभयो। २०६१ मा त बाबुरामलाई जनमुक्ति सेनाको हिरासतमै राखियो।

– मंसिर ४ को चुनावमा चितवनबाट पराजित हुने डरले सुरक्षित हुन खोजिरहेका प्रचण्डलाई बाबुरामले गोरखा लगेर सुरक्षित गर्नुभयो। त्यसैको जगमा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि बाबुराम समाजवादी मोर्चामा पनि छुट्नु पर्‍यो।

– एमाले र माओवादीको कार्यगत एकता हुँदा बाबुराम नेतृत्वको नयाँ शक्ति पनि त्यसमा मिसिन चाहान्थ्यो। घोषणासभामा बाबुरामले समाजवादी मोर्चा जरुरी रहेको र एमाले, माओवादी र नयाँ शक्तिको सहकार्य त्यसका लागि प्रस्थान बिन्दू हुनसक्ने भन्दै भाषण पनि गर्नुभयो। तर, प्रचण्ड अनुदार बन्दा भट्टराई दुई दिन पछि नै सो सहकार्यबाट पछि हट्नु भयो।

अहिले पनि त्यस्तै भएको छ। उपेन्द्र यादवको बाबुराम भित्र्याउने अनिच्छा र भित्र्याउँदा मोर्चाको बैचारिक नेतृत्व बाबुरामले नै गर्ने प्रचण्डको त्रासका कारण बाबुरामलाई फेरि अर्कोपटक जिल्लाइएको छ। प्रचण्डसहित मोर्चाका नेताले विचार मिल्ने अन्य दललाई पनि क्रमशः भित्र्याउने भनेर भट्टराईको अगमनका लागि ठाउँ त राखेका छन्। तर, प्रचण्डको पछिल्लो व्यवहारका कारण चिढिएका भट्टराई त्यही मोर्चामा सहभागि हुने संभावना सकिएको उनी निकटका नेताहरुको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्